• १८ जेठ २०८२, आइतबार

पूर्वसूचना प्रणालीका माध्यमबाट जोखिम न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री पाण्डे

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे।

रमेश पौडेल

पोखरा, जेठ ६ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् जोखिम न्यूनीकरणका लागि विपद् पूर्वसूचना प्रणाली आवश्यक हुने बताउनुभएको छ। उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग सहयोगी हुने बताउनुभएको हो।

युनएनडिपी र युएनडिआरआरको सहयोगमा आयोजित सबैका लागि पूर्व सूचना विषयमा राष्ट्रिय कार्ययोजना २०८२ तर्जुमाका सम्बन्धमा आयोजित उक्त गोष्ठीमा बोल्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘बदलिँदो परिवेश र प्रविधिअनुसार सहज पहुँच हुने किसिमको प्रविधिको प्रयोगबाट विपद्जन्य जोखिमको न्यूनीकरण गर्न सकिन्छ।’  गण्डकी प्रदेशसहित नेपाल विपद् जोखिमयुक्त क्षेत्र भएको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेश हिमाली, पहाडी र तराई भूभाग भएकाले भूगोल अनुसारको सूचना प्रणाली हुनुपर्ने र सोही अनुरूप सचेत गराउनुपर्नेमा जोड दिनुभयो।

जलवायु परिवर्तनका कारण पनि हामीले थप विपद्को सामना गर्नुपरेको बताउँदै उहाँले प्रदेशमा जोखिम क्षेत्र पहिचान गरी पूर्वसूचना र विपद्पछिको भूमिकाका सन्दर्भमा पनि संवेदनशील हुन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो। गण्डकी प्रदेश पर्यटनको राजधानी भएको र विपद्को उच्च जोखिममा पनि रहेकाले स्थानीय नागरिक सँगै पर्यटक लक्षित विपद् पूर्वसूचना प्रणालीको प्रयोग गर्दा कुनै पनि प्रकारका क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो।

त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जोखिम क्षेत्र पहिचान गरेर पूर्वसूचना र विपद्पछिको भूमिकामा पनि संवेदनशील हुन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गण्डकी प्रदेश सभाका प्रमुख सचेतक विन्दु पौडेलले सूचनाको पहुँच जनतामा पुर्‍याउन सके विपद्मा मात्र नभई अन्य समयमा पनि प्रभावकारी बन्ने बताउनुभयो।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले विपद् पूर्व सूचनाका आधारमा विपद्जन्य क्षति धेरै नै न्यूनीकरण गर्न सकिने बताउनुभयो। प्रभावकारी पूर्व सूचना प्रणालीको स्थापनासँगै यसबारे आम सर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिनुु जरुरी भएको उहाँको भनाइ थियो।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रभावकारी पूर्व सूचना प्रणालीको स्थापनासँगै यसबारे आम सर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिनुु जरुरी भएको बताउनुहुँदै स्थानीय तहसम्म मौसम पूर्वानुमानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

युनएनडिपीका गण्डकी र लुम्बिनीका संयोजक सुदिप अर्यालले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सकेमा ३० प्रतिशत क्षति कम गर्न सकिने बताउनुभयो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव ई.अर्जुनकुमार बमले कार्यक्रमको अध्यक्षता गर्दै कतिपय विपद्हरू मानवीय भएता पनि पछिल्लो समय जलवायु परिर्वतनका कारण अधिकांश  विपद्का घटना हुने गरेको उल्लेख गर्नुभयो ।

गोष्ठीमा युनएनडिपीका फोकल पर्सन दिपक केसीले नागरिक बिच सूचना प्रणालीलार्ई प्रभावकारी बनाए मात्र विपल् प्रतिकार्य सम्भव हुने र क्षतिलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो। नागरिक संजालका अध्यक्ष विष्णु बराल, पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतका वक्ताहरूले विपद् प्रतिकार्य बारे बोल्नुभएको थियो। 

कार्यक्रममा गण्डकी तथा लुम्बिनी प्रदेशका सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको थियो।