राधा लुइटेल
फिदिम, जेठ ६ गते। ग्रामीण क्षेत्रमा शान्ति सुरक्षाको अवस्थासँगै नागरिकका आशा अपेक्षा बुझ्न पाँचथर प्रहरीले गस्ती बढाएको छ। २०८१ सालको मङ्सिरदेखि वैशाख मसान्त भित्र जिल्लाका नगर र गाउँ र बस्तीसम्म २२ वटा टोली परिचालन गरेको छ।
गाउँ बस्ती हुँदै टोलसम्म शान्ति सुरक्षाको अवस्था र नागरिकको मनोविज्ञान बुझ्न गस्ती बढाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
पाँचथर प्रहरीले २०८१ असोज ७ गतेदेखि यस्तो अभियान सुरु गरेको थियो। जसलाई प्रहरीले लङ रुट पेट्रोलिङ (एलआरपी) भनिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी ) कौशलकुमार बुडाथोकीले जानकारी दिनुभयो।
बुडाथोकीका अनुसार एलआरपीमा निस्कँदा कम्तीमा ७ देखि ९ जनाको टोली आफ्ना लागि आवश्यक सबैखाले सामग्री बोकेर गाँउ बस्ती पुग्छन्। यो वर्ष ७ महिनाको अवधिमा गरिएका २२ वटा लङ रुट पेट्रोलिङमा एक सय ८६ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट पहिलो पटक बाट निस्केको टोलीले पल्लोटार, सरसिउला, सिवा, नवमीडाँडा, चोकमागु, जोरकुलो, साम्दिन र शनिबारे हुँदै फिदिम बजार आएर यात्रा टुङ्ग्याएको थियो।
यस्तै दोस्रो टोलीले फिदिमबाट चौतारेलाइन, साब्राङ, फेमे खोला, सेजेपा, तामाङ गाउँ, अमले, आकासे, याङनाम, हेवाखोला र थापाटार पुगेको थियो। त्यस्तै तेस्रो पटक सिवा दोभान, ओन्थाक, तिङदेन, यासोक, फिक्कल, मेलवोटे, पौवासार्ताप, रमिते डाँडा लगायतका क्षेत्रहरू समेटिएका थिए। गस्तीका लागि जिल्ला प्रहरी कार्यालयले १६ वटा मुख्य माग निर्धारण गरेको छ।
गस्तीका क्रममा प्रहरीले बाढी पहिरोमा आफन्त र सम्पत्ति गुमाएका सर्वसाधारण, खर्कमा गाईबस्तु चराइरहेका नागरिक, खेतबारी खनजोत गरिरहेका किसानदेखि पाटी पौवामा बास बसेका सर्वसाधारणसँग साक्षात्कार गरेको छ।
भर्खरै फालेलुङ क्षेत्रको गस्तीमा सहभागी भएर फर्किनुभएका प्रहरी निरीक्षक रूपेश तामाङका अनुसार अधिकांशले गाउँमा नियमित गस्ती गर्न सुझाव दिएका छन्।
गस्तीका क्रममा प्रहरी टोलीले स्थानीय तहका जनप्रतिनिधि, विद्यालय, बस्तीका अग्रज, महिला समूह, युवा क्लबका पदाधिकारी लगायत सरोकारवाला निकायसँग छलफल गर्दै शान्ति सुरक्षालाई सुदृढ बनाउन सुझाव सङ्कलन समेत गर्दै आएको छ। प्रहरीको यो सक्रियतालाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।