• ९ जेठ २०८२, शुक्रबार

‘लेखिका भन्दा मलाई अप्ठेरो लाग्छ’

blog

सम्पादकहरूसँग लेखिका राधिका शाक्यको संवाद कार्यक्रम । तस्बिरः लक्की चौधरी

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ ५ गते । ‘करुणा’ कृतिका लेखिका तथा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी प्रथम महिला राधिका शाक्यले आफूलाई कसैले लेखिका र सामाजिक अभियन्ता भनेर सम्बोधन गर्दा अप्ठेरो लाग्ने गरेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपालको आयोजनामा आज आयोजित ‘सम्पादकहरूसँगको संवाद’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । लेखिका शाक्यले भन्नुभयो, “मलाई जे देखे पनि माया लाग्छ, त्यसैले कृतिको नाम ‘करुणा’ जुराएकी हुँ, तर पुस्तक लेख्ने प्रेरणा भने श्रीमान् केपी शर्मा ओलीबाट पाएकी हुँ ।”

‘नेपाललाई माया गर्ने सवालमा, देशको विकासको सवालमा, लगनशीलताको सवालमा, अध्ययनको सवालमा केपी सरसँग समान धारणा छ’ भन्नुहुँदै प्रथम महिला शाक्यले देशमा विद्यमान राजनीतिक अस्थिरताकै कारण विकास नभएको बताउनुभयो । बनेकै दिनदेखि सरकार ढल्छ भनेर कर्मचारीको मनोबल कमजोर पार्ने काम हुनेगरेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।


देशको विकासका लागि सबै नेपालीको साझा प्रयासको खाँचो रहेको चर्चा गर्नुहुँदै शाक्यले भन्नुभयो, “एक जना व्यक्तिले चाहेर, प्रधानमन्त्री वा राष्ट्रपतिले मात्र चाहेर देश बन्ने होइन, सबैको हातेमालो र साझा प्रयास भयो भने मात्र देश समृद्ध बन्न सक्छ, त्यसप्रति सबै नेपाली सकारात्मक बन्न सक्नुपर्छ ।”

देश बन्नका लागि राजनीति राम्रो हुनुपर्छ, देशको नीति सही हुनुपर्छ भन्नुहुँदै प्रथम महिला शाक्यले थप्नुभयो, “म प्रधानमन्त्री भएँ भने पनि देश बनाउन सक्दिनँ, एक्लैको प्रयासमा त केही सम्भव छैन । सबैको साथ र सहयोग चाहिन्छ । तर म राजनीतिमा आउँदैन ।” 

यसअघि आफूले ‘मेरो अनुभूति’ कृति लेखेको र अहिले ‘करुणा’ बजारमा ल्याएको भन्नुहुँदै उहाँले तर आफू लेखिका नभएको बताउनुभयो । जीवन भोगाइका क्रममा नोट गरिएका विषयवस्तु सङ्कलन गरेर पुस्तककार बनाएको उहाँको भनाइ छ । लेख्नुपर्ने विषय अझै थुप्रै भए पनि समय व्यवस्थापनको अभावले लेख्न नसकिरहेको उहाँले प्रष्ट पार्नुभयो । समय व्यवस्थापन भएमा थप कृति लेख्ने चाहना भने आफूमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।


‘केपी सरको अध्ययन गर्ने बानी र पढेको चिजलाई सम्झन सक्ने क्षमता भएकाले उहाँले धेरै विषय सम्झिन सक्नुहुन्छ । तर ममा त्यो क्षमता छैन, पढ्दैगयो, बिर्सदै गयो हुन्छ’ उहाँले थप्नुभयो, “जीवनमा मैले केही नराम्रो गरेको छैन, आगामी दिनमा पनि त्यस्तो नगर्ने प्रतिबद्धता जनाउँछु ।” डकुमेन्टेसन होस् भनेर यो पुस्तक आफूले लेखेको उहाँले प्रष्ट पार्नुुभयो । 

वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. देवी नेपालले ‘करुणा’ प्रथम महिला राधिका शाक्यको जीवनको समवेदना, सङ्कल्प र सङ्घर्षको कथा भएको बताउनुभयो । समाजमा सत्यको उदघाटन हुँदा शङ्का गर्ने प्रवृत्ति हाबी रहेको भए पनि करुणामा शाक्यले सत्य कुरा उदघाटित गर्नुभएको उहाँले चर्चा गर्नुभयो । 

वरिष्ठ पत्रकार वविता बस्नेतले प्रथम महिला शाक्यको जीवन सबैका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताउनुभयो । नेपाली समाजमा पुरुषले महिलालाई विवाह गरी भित्र्याउने चलन भए पनि शाक्यले केपी सरलाई घरमा भित्र्याएको उहाँले चर्चा गर्नुभयो । बालकोटको घर पनि शाक्य आफ्नै कमाइले बनाएको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो, “केपी शर्मा ओली परराष्ट्रमन्त्री हुँदा समेत राज्यको पैसा खर्च हुन्छ भनेर शाक्य विदेश भ्रमण गर्नु भएन । श्रीमान् पटक–पटक मन्त्री, प्रधानमन्त्री हुँदा समेत उहाँले कुनै अवसर लिनु भएन, यो उहाँको सादगी जीवन हो ।”


प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएका कार्यक्रममा विभिन्न मिडियाका सम्पादकहरूमा गोरखापत्र संस्थानका पूर्व अध्यक्ष  कृष्णमुरारी भण्डारी, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, नेपाल प्रेसका सम्पादक मातृका पौडेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेत, गोरखापत्र अनलाइनका नि.सम्पादक लक्की चौधरी, मध्यान्ह दैनिकका सम्पादक मदन श्रेष्ठ, सञ्चारिका समूहकी उपाध्यक्ष वसन्ती बास्तोला, पत्रकार दीपक पाण्डेय, जनार्दन बराल, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामालगायतले लेखिका शाक्यलाई पुस्तकबारे जिज्ञासा र सुझाव दिनुभएको थियो ।