रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), जेठ ३ गते । गुल्मीको इस्मा गाउँपालिका–४, दोहली कल्यारमा गुरुङ समुदायका ३६ घरपरिवारको बसोबास छ । बसाइँसराइले थुप्रै घरपरिवार सहर झरिसकेका छन् । गाउँमै बसेका पनि अधिकांशले गुरुङ भाषा बोल्दैनन् । तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषद् इस्माका अध्यक्ष ठगबहादुर गुरुङले भाषासहित गुरुङ संस्कार र संस्कृति बिर्संदै गएपछि अहिले तमु भाषा र खेमा लिपि सिकाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँ पनि ४५ वर्षको हुनुभयो तर तमु भाषा र खेमा लिपि थाहा छैन । उहाँले हजुरबुवाहरूले मात्रै तमु भाषा बोल्ने गरेका बताउनुभयो । उहाँले गाउँपालिका र परिषद्को समन्वयमा तमु भाषा तथा खेमा लिपि संस्कार र संस्कृतिको कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो । इस्मा कल्यारमा पाँच÷सात घरपरिवारले मात्रै तमु भाषा बोल्छन् । गुरुङले नयाँपुराना पुस्ताका ७५ जनाले भाषा र खेमा लिपि सिकिरहेका बताउनुभयो । तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष आशिष गुरुङका अनुसार गुल्मीको कालीगण्डकी गाउँपालिका–७, धुवाँखोलामा सबभन्दा बढी गुरुङ समुदायको बसोबास छ ।
झन्डै ८० घर गुरुङ समुदाय भएको धुवाँखोला र मुसीकोट नगरपालिका–६ को कुर्घास्वाँरामा मात्रै तमु भाषा बोलिने गरेको छ । धुवाँखोला, इस्मा, स्वाँरा, नयाँगाउँको गुरुङगाउँ, लिम्घा, फोक्सिङ, भुवाचिदी, पौदी, अर्लाङकोटलगायतका स्थानमा गुरुङ समुदायको बसोबास छ । गुरुङका अनुसार भाषाको हिसाबले धुवाँखोला र स्वाँराबाहेकका स्थानमा विस्थापित हुने
व्रmम रहेकाले संरक्षण अभियान थालिएको छ । गुल्मीका दुई हजार एक सय गुरुङ समुदायमा १८ प्रकारका गुरुङ थर र उपथर छन् ।
उहाँले स्थानीयको माग र जिल्लाको समन्वयमा भाषा कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँसहित परिषद्का सल्लाहकार भीम गुरुङले तमु भाषा र लिपि सिकाइरहनुभएको छ । इस्मा गाउँपालिकाका अध्यक्ष भगत खड्काले गुरुङ समुदायको बाक्लो उपस्थिति रहेको कल्यारमा भाषा, कला संस्कृतिको संरक्षणसँगै होमस्टे सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।