• ३ जेठ २०८२, शनिबार

मितेरी साइनोले बिगारेको प्रेमकथा ‘जार’

blog

सुकृत नेपाल

काठमाडौँ, जेठ ३ गते । अहिलेको युवापुस्ताले इतिहासका विषयमा खासै चासो दिएको पाइँदैन तर इतिहास बुझ्यो र जान्यो भने त्यसबाट धेरै ज्ञान पाइन्छ । दुई सय वर्ष पुरानो परिवेशलाई आधार बनाएर तयार गरिएको चलचित्र ‘जार’ ले मौलिक विषय उजागर गर्न खोजेको छ । त्यतिबेलाको समाज र जारप्रथाको इतिहास बुझ्न चलचित्रले सहयोग गर्ने देखिन्छ । भलै सबै कुरा मिल्दोजुल्दो नभए पनि ‘जार’ को सवालमा धेरै कुरा जान्न भने सकिन्छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित ‘जार’ फुर्वा छिरिङ लामाले निर्देशन गर्नुभएको चलचित्र हो । 

भारत सिक्किमको एउटा गाउँ जहाँ लाहुरे रुद्रमान (सौगात मल्ल) र गाउँकी ठुली (गीताञ्जली थापा) बिच मायाप्रेम बस्छ । दुवै प्रेमविवाह गर्नेसम्म पुग्छन् । यसै गरी ठुलीकी बहिनी र रुद्रमानकी बहिनीबिच पनि गहिरो मित्रता बसेको छ । दुवैको परिवारले उनीहरूको मित्रतालाई मितिनीमा परिणत गर्ने निर्णय गर्छन् । त्यसपछि ठुली र रुद्रमानको जीवनमा आउने अनेक उतारचढावको कथालाई चलचित्रमा देखाइएको छ । उनीहरूको विवाहदेखि लिएर ठुलीले रुद्रमानमाथि गरेको अविश्वासको कथावरपर नै चलचित्र रुमल्लिएको छ ।

हाम्रो समाजमा बहिनीकी मितिनी पनि आफ्नी बहिनी हुन्छिन् भन्ने मान्यता छ । त्यसैले रुद्रमान र ठुलीको जीवनमा बाधा अड्चन आउनुको कारण मितेरी साइनो पनि हो । आफ्नी बहिनीले रुद्रमानकी बहिनीसँग मित लगाएको ठुलीलाई फिटिक्कै मन परेको छैन तर पनि घर र समाजका लागि उनी सबै कुरा सहेर बस्छिन् । अर्को गाउँमा प्रहरी जवान हर्षजित (अनुपविव्रmम शाही) बस्छन् र उनले पनि ठुलीलाई भित्रभित्रै मन पराएका हुन्छन् । परिवारको कारण भनौँ या ठुलीको राजीखुसीले, हर्षजित र ठुलीको विवाह हुन्छ । ठुलीले विवाह गरे पनि रुद्रमानले के यो कुरा सजिलै सहन सक्लान् त ? चलचित्रको कथाको ‘क्लाइमेक्स’ यही हो । चलचित्रको मूल कथा रुद्रमान, ठुली र हर्षजितवरपर घुमेको छ । रुद्रमान र हर्षजितको लडाइँ ठुलीकै कारणले हुन्छ र ठुलीले कसलाई साथ दिज्छिन् भन्ने कुराले दर्शकलाई हलमा केही घण्टा भए पनि बाँध्छ । 

चलचित्रको राम्रो पक्ष यसको गीतसङ्गीत र छायाङ्कन हो । झुमा लिम्बूले गाउनुभएको प्रायः गीत कर्णप्रिय र मन छुने खालका छन् । सिक्किमका मनमोहक दृश्यले दर्शकलाई लोभ्याउँछ । दुई सय वर्षअगाडिको समाजलाई निर्देशक लामाले दृश्यमा सुन्दर तरिकाले प्रस्तुत गर्न खोज्नुभएको छ । कुनै कुनै ठाउँमा केही गल्ती देखिए पनि दर्शकलाई दुई सय वर्षअगाडिको समाजमा लैजान निर्देशक लामा सफल हुनुभएको छ । नायिका गीताञ्जली थापाको अभिनयमा फरकपन देखिन्छ । अन्य चलचित्रमा भन्दा यसमा सौगात मल्लको चरित्र केही फरक छ । प्रायः एकैखाले बोली बोले जस्तो लाग्ने उहाँको संवादमा धेरै फरक पाइन्छ । लाहुरेको भूमिकामा उहाँ जम्नुभएको छ । अनुपविव्रmमको अभिनय पाटो खासै देखिँदैन तर चलचित्रमा ‘ट्विस्ट’ ल्याउने काम उहाँमार्फत हुन्छ । 

जार काट्नका लागि सात दिनको समय दिइएको हुन्छ तर हर्षजितले रुद्रमानलाई काट्न कति दिन जङ्गलमा लखेटे; त्यसलाई निर्देशकले प्रस्ट्याउन बिर्सेको देखिन्छ । जब रुद्रमान र हर्षजित आमनेसामने हुन्छन् तब हर्षजितले रुद्रमानलाई अब त काट्लान् भन्दाभन्दै चलचित्र सकिन्छ । चलचित्रको अन्त्य खासै प्रस्ट छैन । यसले दर्शकका मनमा अनेक कुरा उब्जन सक्छ ।