• ३१ वैशाख २०८२, बुधबार

लमजुङका गुरुङ बस्तीमा घाटु नाचिँदै

blog

लमजुङको मस्र्याङ्दी–३ ढंगैमा घाटु नाच नाच्दै । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, वैशाख ३१ गते । वैशाख पूर्णिमाको अवसरमा लमजुङका गुरुङ गाउँहरुमा घाटु नाच नाचिएको छ । परम्परागत गुरुङ संस्कृतिमा आधारित घाटु नाचले संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटक पनि आकर्षित गरेको छ । 

गुरुङ गाउँगाउँमा वैशाख पूर्णिमादेखि सुरु भएको घाटु नाच पञ्चमीमा विसर्जन गरिन्छ । मस्र्याङ्दी–३ ढंगैका पूर्ण गुरुङले घाटु नाचले गाउँमा रौनक थपेको बताउनुभयो । घाटु हेर्न मस्र्याङ्दी गाउँपालिकाको सन्जापु, मिप्रा, घनपोखरा, सिलढुङ्गादेखि पाहुनाहरु आएको उहाँले बताउनुभयो ।  

रक गार्डेन खानीगाउँ पर्यटन समितिका अध्यक्ष कामशार्की गुरुङले गुरुङ गाउँहरुमा घाटु नाचको उत्सव चलेको बताउनुभयो । “गाउँ गाउँमा घाँटु चलेको छ । घाटुले पाहुनाहरु जमघट हुँदा रमाइलो भएको छ”, गुरुङले भन्नुभयो, “घाटु हेर्न पाहुनहरु आउने जाने चलिरेको छ ।”

लमजुङका ढँगै, घनपोखरा, सिउरुङ, छापा, मिप्रा, पसगाउँ, सिङ्दी, गिलुङ, हिलेटक्सार, ताघ्रिङ, श्रीमञ्ज्याङ, घलेगाउँ, करापु, भुजुङ, गिलुङ, ताघ्रिङ, घेर्मु, हिलेटक्सार, फलेनी, ढोडेनी, पाचोक, प्यारजुङ गौंडा, इलमपोखरी, दूधपोखरीलगायत गुरुङ गाउँमा घाटु नाँच नाचिएको छ । गाउँ गाउँमा स्थनीय आमा समूह तथा युवाक्लबले घाटु नाचको व्यवस्थापन गरेका छन् ।

गुरुङ भाषा र संस्कृतिका अध्येता ईन्द्रबहादुर गुरुङका अनुसार घाटु नाच पन्ध्रौं सताब्दीतिर प्रारम्भ भएको मानिन्छ । घाटु नाचमा विशेषगरि रजस्वला नभएका दुई जना कन्यालाई मध्ययुगीन राजा परशुराम र रानी यम्फावतीको प्रतीकका रुपमा नाच्न लगाइन्छ । त्यसपछि उनीहरु जति उमेरका भएपनि इच्छा अनुसार नाच्न सक्छन् । “घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृङ्गार, बिहेवारी, सिकार, माछा मार्ने, खेतीपाती तथा युद्धकाबारे व्याख्या र अभिनय गरिन्छ,” गुरुङले भन्नुभयो, “घाँटु विशेषगरि सती र बाह्रामासे हुन्छ र यसमा कुसुण्डा नृत्यको विशेष प्रस्तुति रहन्छ ।”

घाटुको गीतिकथा प्रेमबाट सुरु हुने र मृत्यु वियोगमा टुङ्गिने भुजुङका घाटु गुरु बुद्धिरास गुरुङले बताउनुभयो । “लडाइँमा राजा मारिएपछि रानीले सासुलाई घर व्यवहार, ससुरालाई धनसम्पत्ति र नावालक छोरा बालकृष्णलाई राजाको सिंहासनमा राखेर सति जान तयार हुन्छिन्,” उहाँले भन्नुभयो, “राजा मरेको र रानी सती जान लागेको थाहा पाएपछि घरका कुकुर, विरालो, हात्ती, परेवा लगायत घरपालुवा जनावरहरु रुन थाल्छन् ।” सती जाँदाको वेला यम्फवाती अर्थात् घाँटुसरी रुँदाको क्षण सवैलाई एकपटक मर्माहत बनाउने उहाँले बताउनुभयो ।

घाटु नाच तीनदेखि पाँच दिनसम्म नाचिन्छ । जहाँ गीत बोलाउने, देउता हेर्ने, माया पिरती, खेतीपाती, फूलको जात गन्ने, जाल खेल्ने, ढडिया खेल्ने, नुहाउने, शिकार खेल्ने, विवाह गर्ने, लडाइँ गर्ने र सती जाने लगायत १२ वटा डाँडा गन्दै गीत गाइने पुरोहित ईन्द्रबहादुरले बताउनुभयो । उहाँका अनुसार यसमा हिउँचुली, वरचुली, देउचुली र गङ्गाचुली गरी पूर्वपश्चिम र उत्तरदक्षिणमा रहेका प्राकृतिक देवीलाई देउतालाई बोलाइन्छ । 

“कुसुण्डा नृत्यमा यिनै देउता घाटूसरीमा चढेका कारण उनीहरु बेहोस् हुन्छन्,” ईन्द्रबहादुर भन्नुहुन्छ्, “गीत र ताल भूलेमा घाटुसरीलाई विउँझाउन सकिन्न ।” उहाँले परापूर्व कालमा आधाकल्सो गीत गाएर बेहोस् भएका घाटुनी मरेपछि घाँटु गुरु ल्याएर गीत गाउन लाउँदा चिहानबाट बिउँझिएको बताउनुभयो । घाटु नृत्यलाई अन्तिम दिनमा वस्ती नजिकैको डाँडा वा कुनै चोखो ठाउँमा लगेर सेलाउने चलन छ ।