ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ३० गते । म्याग्दीका क्रियाशिल तीन जना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कारद्धारा सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट जिल्लाका क्रियाशिल पत्रकार प्रताप बानियाँ, दलप्रसाद विश्वकर्मा(अमित) र राकेश शर्मालाई जनही नगद ११ हजार रुपियाँ र सम्मान पत्रले पुरस्कृत गरिएको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो ।
संविधान सभा सदस्यहरु गोविन्द पौडेल, नवराज शर्मा, रेशमबहादुर बानियाँ, नरदेवी पुन, गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली र जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री लगायतले नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर पत्रकारलाई पुरस्कृत एवम् सम्मान गर्नुभएको थियो।
बानियाँलाई आर्थिक वर्ष २०७८-०७९, विश्वकर्मालाई २०७९÷८० र शर्मालाई २०८०÷०८१, को पुरस्कार एकैपटक प्रदान गरिएको हो । पुरस्कृत हुनुहुने पत्रकारहरु जिल्ला र केन्द्रीय स्तरका विभिन्न सञ्चार माध्यममा एक दशक भन्दा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ ।
नवीन सोच तथा प्रतिभाको प्रयोग गरी खोजमुलक र अनुसन्धानमुलक समाचार मार्फत जिल्लाको समग्र विकासमा योगदान पुर्याएकाे भन्दै पत्रकारहरुलाई नगदसहित सम्मान गरिएको जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले बताउनुभयो ।
तत्कालिन समयमा जिल्ला विकास समितिले स्थापना गरेको. दुई लाख रुपियाँको कोषमा जिल्ला समन्वय समितिले एक लाख थपेर तीन लाख रुपियाँको विकास पत्रकारिता अक्षय कोष स्थापना गरिएको थियो । पत्रकारहरुबाट आवेदन संकलन गरेर लेखेका समाचार मूल्याङ्कन गरी छनौट समितिद्वारा उत्कृष्ट पत्रकारहरु छनौंट गरि पुरस्कृत गरिएको जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
२०७२ मा तत्कालिन जिल्ला विकास समितिले म्याग्दी जिल्लाको विकास पत्रकारिता अक्षयकोष कार्यविधि २०७२ बनाएर उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्षमा एक जना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ ।