• ३० वैशाख २०८२, मङ्गलबार

नौ अर्ब भित्रियो वैदेशिक लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३० गते । मुलुकमा करिब नौ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्म आठ अर्ब ९६ करोड रुपियाँ भित्रिएको हो ।

गत वर्ष सो अवधिमा छ अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो । गत आवको तुलनामा साढे दुई अर्ब बढी लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ । गत फागुनसम्म आठ अर्ब ४९ करोड रुपियाँ विदेशी लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । चैतमा मात्र ४७ करोड रुपियाँ बराबरको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ । यस्तै नौ महिनामा खुद पुँजीगत ट्रान्सफर सात अर्ब ७१ करोड रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा चार अर्ब ७८ करोड पुँजीगत ट्रान्सफर भएको थियो ।

सरकारले नीतिगत सुधार गरेसँगै मुलुकमा भित्रिने वैदेशिक लगानीमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । सरकारले केही समयअगाडि वैदेशिक लगानी भित्र्याउन अध्यादेशमार्फत कानुन संशोधन गरेको थियो । जसको कारण वैदेशिक लगानीमा सुधार देखिएको छ । उद्योग विभागका अनुसार पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको छ । 

सबैभन्दा धेरै लगानी चीन, भारत, जापान, अमेरिका, बङ्गलादेशलगायतका मुलुकबाट लगानी प्रतिबद्धता आउने गरेको छ । नौ महिनामा ४२७ वटा परियोजनामार्फत ५७ अर्ब ९५ करोड लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार ८७८ परियोजनामार्फत पाँच खर्ब ६६ अर्ब ७० करोड ३७ लाख ४३ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । लगानी प्रतिबद्धता धेरै आए पनि नेपालमा भित्रिने लगानी भने न्यून रहेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।