• २९ वैशाख २०८२, सोमबार

झापामा हावाहुरीले ठुलो क्षति

blog

बिष्णुप्रसाद पोखरेल

दमक, वैशाख २९ गते । झापामा हावाहुरीले विभिन्न पालिकाहरुमा क्षति पुर्‍याएको छ । विभिन्न ठाँउमा घरहरूको टिन उडाएको, बिजुलीको पोलहरू लडाएको र रुखहरू ढाल्दा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक नगरपालिका वडा न. ४ सङ्गमचोक बस्ने कमला अधिकारी, भिमप्रसाद सिग्देल, दमक ८ का दुर्गा प्रसाईको घरमा क्षति पुगेको छ । उहाँहरूको घरमा लगाएको जस्तापाता उडाएको जनाइएको छ । यसैगरी दमक ८ को बालुवाटारमा ५ वटा घरको छाना उडाएको प्रहरीले जानकारी दिएको छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार विभिन्न ठाँउहरूमा बिजुलीको खम्बाहरू लडेका कारण विद्युत प्राधिकरणसँग समन्वय गरेर त्यसलाई उठाउने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार कृषिबालीमा ठुलो क्षति भएको र क्षतिको विवरण सङ्कलनको काम भइरहेको जनाकारी दिनुभयो ।

यसैगरी बाह्रदशी गाँउपालिका ७ बत्तीस बिघा क्षेत्रमा लगाएको केरा खेतीमा ठुलो क्षति पुगेको जनाइएको छ । २० बिघाभन्दा बढी जमिनको केरा खेतीमा असर गरेको स्थानीय मिलन संग्रौलाले बताउनुभयो । अढाइ बिघामा लगाएको आफ्नो केरा खेती सम्पूर्ण नष्ट भएको उहाँले जनाउनुभयो ।

मेचीनगर नगरपालिको कामक्ष इन्डस्टज प्राईभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसंगै आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हावाहुरीले हल्दिबारी गाउँपालिका ४ बलटोल बस्ने ६९ वर्षीय सकलदिप साहको घर उडाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।