सिराज खान
नेपालगन्ज, वैशाख २९ गते । बाँकेको अगैयास्थित राप्ती नदीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीद्वारा आयोजित १२ दिने गोताखोर तालिम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यक्रम अनुसार १० जना शसस्त्र प्रहरीलाई गोताखोर तालिम प्रदान गरिएको हो ।
विपद् व्यवस्थापन टिमको दक्षतामा पुनर्ताजगी गर्दै आत्मविश्वास बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरले बताउनुभयो । उहाँले यस्ता तालिमले सशस्त्र प्रहरीलाई विपद व्यवस्थापनमा ठुलो सहयोग गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र बितरण गर्दै सशस्त्र प्रहरीले विपद व्यवस्थापनमा खेलिरहेको भूमिकाको उच्च प्रशंसा गर्दै यस खाले तालिमले पुनर्ताजगीसँगै दक्षता र आत्मविश्वास वृद्धिमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी लगायतले जल उत्पन्न प्रकोप व्यवस्थापनमा तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनार, सशस्त्र प्रहरी बल नौवस्ता शिक्षालय प्रमुख सशस्त्र वरिष्ठ प्रहरी उपरिक्षक गङ्गाराम श्रेष्ठ, रिजर्भ गण शमशेरगंजका सशस्त्र प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक शोभाकान्त खनाल, बर्दियाका सशस्त्र प्रहरी प्रमुख मानबहादुर शाही, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातली, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धन सिंह सम्झना लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण शमशेरगन्जको प्रदेश स्तरीय विपद व्यवस्थापन टिमले जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास समेत प्रदर्शन गरेको थियो ।
पानीमा डुबेकाको खोज तथा उद्धार, पूर्व तयारी र प्रतिकार्यलाई समेटेर घटना अभ्यास गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।