• २९ वैशाख २०८२, सोमबार

सवारीसाधन चोरीका घटना बढ्दो

blog

फाइल तस्बिर ।

राममणि दाहाल

मकवानपुर, वैशाख २९ गते । मकवानपुरमा पछिल्लो समय साना सवारीसाधनदेखि ठुला सवारी साधन चोरीको घटना बढ्दै गएकाे छ । मनहरीबाट पार्किङमा राखेको ट्रक चोरी भएर फेला पारी सवारी धनीलाई बुझाएको एक साता नबित्दै माइक्रो चोरी भएको छ ।

हेटौँडा उपमहानगरपालिका ११ नवलपुरस्थित नवीन बर्तौलाको घर अगाडि पार्किङ गरेर राखेको भे. १ ज. १२०४ नम्बरको माइक्रो चोरी भएको हो । आइतबार राति हराएको उक्त माइक्रो खोजतलासको क्रममा मनहरी गाउँपालिका ७ स्थित पुलिमुनि खोला छेउमा छोडेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

प्रहरीका अनुसार फेला परेको माइक्रो सम्बन्धित सवारी धनीलाई सोमबार बुझाइएको छ । यस्तै गत साता मनहरी गाउँपालिका ७ रमनटारका ट्रक चालक सोमबहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना. ६ ख. ३६६१ नं. को ट्रक हराएकोमा प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा मनहरी गाउँपालिका रजैयास्थित पूर्व पश्चिम सडक खण्डको जङ्गलमा लगेर छाठेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

उक्त ट्रक कसले चलाएर लगेको हो भन्ने अझै खुलेको छैन । यसैगरी हेटौँडा १० का बम बहादुर न्यौपानेको ना. २ ह. १३७१ नम्बरको अटो हराएको आठ महिनापछि फेला पारी प्रहरीले बझाएको थियो ।

गत वर्षको भदौ १४ गते रातको समयमा आफ्नै घर अगाडि पार्किङ गरी राखेको अवस्थामा चोरी भएकोमा उक्त अटोको खोजतलासको क्रममा भरतपुर महानगरपालिका ११ सल्लेरी टोल स्थितबाट फेला परेको थियो । साथै अटो चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपरासी जिल्ला कुलिन्टार गाउँपालिका १ बस्ने वर्ष ३० को गोपाल श्रेष्ठ र भरतपुर महानगरपालिका ११ बस्ने वर्ष ३२ को शंकर ढकाललाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।