साहारा लिम्बू
फुङ्लिङ, वैशाख २९ गते । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न चार विधाको तालिम प्रदान गरिएको छ । गाउँपालिका स्थिति नाङ्खोल्याङमा रहेको उक्त विद्यालयका विद्यार्थीलाई अतिरिक्त सीप सिकाउने उद्देश्यसाथ सिलाइ कटाई, कम्प्युटर कक्षा, ब्यूटीपार्लर र हाउस वायरिङसम्बन्धी तालिम प्रदान गरिएको हो ।
जसमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई कम्प्युटर कक्षा र सिलाइ कटाई, ब्युटीपार्लर र हाउस वायरिङसम्बन्धी तालिम भने कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई प्रदान गरिएको छ । कालिका माध्यमिक विद्यालयको आयोजना सम्पन्न भएको तालिमलाई पाथिभरा याङवरक गाउँपालिकाले आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष केशर सुब्बाले बताउनुभयो ।
उहाँका अनुसार पालिकाको स्वीकृत बजेटमार्फतको बुक फ्रि फ्राइडेु कार्यक्रम अन्तर्गत विनियोजित पाँच लाख रुपियाँ विद्यालयलाई सहयोग गरिएको छ । पढाईको मुख्यरूप नै सिकाइ भएकाले पालिका यस्तो काममा सधैँ अग्रसर रहने उहाँको भनाइ छ । तालिमको प्राविधिक सहयोग भने घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले गरेको हो ।