• २९ वैशाख २०८२, सोमबार

बससँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

blog

दुर्घटनास्थल । तस्बिर सौजन्य : इन्द्रसिंह शेरचन

ठाकुरप्रसाद आचार्य

म्याग्दी, वैशाख २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा बससँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान करिव साढे ९ बजे बेनी–जोमसोम–कोरला सडक अन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग. १६ प. ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग. २ ख. २१३९ नम्बरको बसमा एक्कासी ठोक्किँदा दुर्घटना भएर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर मोटरसाइकल चालक विरगन्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले जानकारी दिनुभयो । मृतक अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आउनुभएको थियो । 

बसका चालकले तिब्र गतिमा मोटरसाइकल आफूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए । मोटरसाइकल एक्कासी गाडीमा आएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय व्यवसायी इन्द्रसिंह शेरचनाले जानकारी दिनुभयो । दुर्घटनाका बारेमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर पौडेललेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बसमा सवार यात्रु भने सकुशल छन् ।