राजु लामिछाने
रुकुमपश्चिम, वैशाख २९ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–७ सहरे गाउँको एक टहरामा आगलागी भएको छ । सोमबार बिहान स्थानीय फौदे बुढाथोकीको टहरामा आगलागी हुँदा पशुचौपाया, अन्नपात, भाँडाबर्तन, लत्ताकपडा र नगद समेत जलेर नष्ट भएका छन् ।
सानीभेरी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुलबहादुर बुढाका अनुसार आगलागीबाट टहरासहित दुई लाख बढीको क्षति भएको छ । उहाँका अनुसार आगलागीमा परेर टहरासहित दुई वटा बाख्रा, दुई बोका, एक भेडा, तीन कुखुरा र एक कुकुर जलेर नष्ट भएका छन् । यसका साथै टहरामा रहेका सम्पूर्ण मकै, गहुँ, चामल लगायतका अन्नपात, लत्ताकपडा, भाँडाकुडा खरानी भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।
आगलागी हुँदा सात हजार पाँच सय नगद समेत जलेको छ । फौदे बुढाथोकीको कपडामा रहेको दुई हजार र उहाँको श्रीमतीले काफल बेचेर साँचेको पाँच हजार रुपियाँ टहरासँगै जलेको वडाध्यक्ष बुढाले उल्लेख गर्नुभयो ।
आगलागीमा परेर एक भैसी र एक गोरु घाइते भएका छन् । छिमेकीहरूले गोरु र भैंसीको उद्धार गरेर जोगाएको तर गम्भीर घाइते अवस्थामा रहेको बताइएको छ ।
तमाखु (कक्कर) सल्काउने बेला टहरा नजिक रहेको खरको भागमा आगो सल्लेको र टहरामा सल्केर आगलागी हुन गएको वडाध्यक्ष बुढाले बताउनुभयो ।
आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीयले आगो नियन्त्रणमा ल्याएका छन् । उक्त टहरा (अस्थायी आवास) भूकम्प पनि सरकारले दिएको अनुदानको रकमले निर्माण गरिएको थियो ।