• २९ वैशाख २०८२, सोमबार

मयुँ खोलाको पुल भाँचियो, यातायात सञ्चालनमा समस्या

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), वैशाख २९ गते । इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केहि वर्ष अघिको बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरिएको थियो । 

उक्त अस्थाई संरचना समेत भाचीएपछि यातायत सञ्चालनमा समस्या भएको हो । पुल भाँचिएपछि खोलाबाट यातायतका साधन आउजाउ गर्नुपर्ने भएको छ। पानी नपर्दा खोलाबाट सवारी आउजाउ भएपनि पानी परेर खोला बढेपछि सवारी आउजाउ बन्द हुने अवस्थामा पुगेको स्थानीय सवारी चालक फुरी शेर्पाले जानकारी दिनुभयो । उक्त सडक भएर माईजोगमाई गाउँपालिकाको नयाँबजार, नामसालिङ, सोयाङ, प्याङ, जोगमाई र सूर्योदय नगरपालिका १ गोर्खे सहित क्षेत्रमा दैनिक रुपमा सयौ सवारी साधन सञ्चालन हुने गरेका छन् । 

पुलको मर्मतका लागि माईजोगमाई गाउँपालिकाले पाँच लाख र सूर्योदय नगरपालिकाले पाँच लाख रकम तत्काल काम गर्ने गरी छुट्याएका छन् । माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकाका इन्जििनियर आईतबार नै पुलको निरीक्षण गरेकाले तत्काल निर्माणको काम दुई पालिकाको समन्वयमा थालिने जानकारी दिनुभयो ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले उक्त पुल सञ्चालनका लागि तत्काल दुई पालिकाले पहल गरेर यातायत सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । उहाँले अस्थाई संरचना निर्माण गरेपनि दिर्घकालिन समस्या समाधानका लागि प्रदेश सरकारले ध्यान दिनु पर्ने बताउनुभयो । 

फिक्कल नयाँबजार सडक कोशी प्रदेश सरकारको लगानीमा ट्रयाक खोलिएको छ दशक पछि एक डेढ वर्षअघि मात्र कालोपत्रे गरिएको थियो । उक्त क्षेत्रका कोशी प्रदेश सांसद खिनु लङवा लिम्बुले प्रदेश सरकारले मयुँ खोलामा पक्की पुल निर्माणका लागि क्रमागत रुपमा बजेटको व्यवस्था गरेको र चाडै बोलपत्र आवहान हुने जानकारी दिनुभयो । 

फिक्कल नयाँ बजार सडककै सूर्योदय नगरपालिका ९ ढोडेमा पहिरोले सडक बगाएको छ । उक्त सडक मर्मत नगरिए यस पटकको बर्खामा उक्त सडक भएर सवारी सञ्चालनमा समस्या हुने भएको छ । उक्त पहिलोले तानेको सडक बनाउन २५-३० लाख लाग्ने भए पनि प्रदेश सरकारले मर्मतका लागि पाँच लाख रुपियाँ मात्र विनियोजन गरेपछि काम अगाडी बढ्न सकेको छैन ।