• २९ वैशाख २०८२, सोमबार

विद्युत र खानेपानीपछि मोटरबाटो, स्थानीय हर्षित

blog

त्रिवेणी गाउँपालिकाको विकट क्षेत्र कोलचौरमा निर्माण गरिएको मोटरबाटो । तस्बिर : शंकर केसी

शंकर केसी,

शारदा (सल्यान), वैशाख २९ गते । सल्यानको त्रिवेणी गाउँपालिका-१ स्थित कोलचौर, खज्जर यस क्षेत्रका निकै विकट र दुर्गम बस्ती थिए । भौगोलिक विकटताका कारण केही स्थानीयहरू बसाइसराई गरेर नजिकैको बजार काभ्रा त कोही छिमेकी जिल्ला दाङ झरिसकेका छन् । 

तर पछिल्लो समय गाउँसम्मै मोटरबाटो पुगेपछि स्थानीयहरूमा नयाँ आशा पलाएको छ । भौगोलिक विकटताका कारण गाउँमा मोटरबाटो पुग्ला भन्ने नसोचेका स्थानीय सुरेन्द्र रोका बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीय सरकारले यस्तो ठाउँसम्म पनि बाटो ल्यायो । हामीलाई किनमेलका लागि काभ्रा बजार पुग्न पनि दिनभर लाग्थ्याे । अब धेरै सजिलो हुनेभयो ।”

संघीय सरकारको ८० लाख र त्रिवेणी गाउँपालिकाको ८० लाख गरी कुल एक करोड ६० लाख लागतमा कोलचौर खज्जर अनुरुद्र हुदै दाङ जोड्ने मोटरबाटो निर्माण गरिएको हो । वि.सं. २०८० फागुन ३ बाट निर्माण कार्य सुरु भएको यस मोटरबाटो निर्माण भइसकेपश्चात आइतबार त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले उद्घाटन गर्नुभएको हो । “हामीले निर्वाचनको बेला गरेको वाचाहरू क्रमिक रूपमा पुरा गर्दै गएका छौँ”, उहाँले भन्नुभयो, “मोटरबाटोसँगै खानेपानी, कृषि, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य लगाएत विभिन्न क्षेत्रको विकासका लागि इमानदारपूर्वक लागिपरेका छौँ ।”

विकट र दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनको भनाइ छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले यस सडकलाई अझै राम्रो बनाउनको लागि यस वर्ष पनि बजेटको व्यवस्था गरी स्तरवृद्धिको काम भैरहेको जानकारी दिनुभयो । छिमेकी जिल्ला दाङ जोड्ने सिमानासम्म मोटरबाटो निर्माण भएको भन्दै वडाअध्यक्ष दलबहादुर बस्नेतले यस मोटरबाटोले दिर्घकालिन रूपमा महत्त्वपूर्ण फाइदा पुर्‍याउने बताउनुभयो ।

गाउँमा विकासले छोएको भन्दै स्थानीयहरूले स्थानीय सरकारप्रति सन्तोष पोखेका छन् । “पहिले त धेरै नै दुःख काट्नुपर्‍याे ”, स्थानीय जीत बहादुर केसीले भन्नुभयो, “खानेपानीका लागि समेत घण्टौँ कुर्नुपर्ने अवस्था थियो । अहिले त घरघरमा पानी, बिजुली बत्तीको सुविधा छ । सडक पनि आइसक्यो । गाउँपालिकाले राम्रो काम गरेको छ ।” निसान बिआर जेभी शारदा नगरपालिका, १ सल्यान मार्फत ठेक्का प्रक्रियाबाट मोटरबाटो निर्माण गरिएको हो । निर्माण व्यवसायी डिल्ली केसीले विविध समस्याका बावजुद पनि मोटरबाटो निर्माण गरिएको उल्लेख गर्नुभयो ।