अनिल पराजुली
हेटौँडा, वैशाख २९ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–५ सुपिङमा अटो दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । दुर्घटनामा मकवानपुर भिमफेदी–५ सुपिङ बस्ने ४४ वर्षीय लीलानाथ पुडासैनी र सोही स्थान बस्ने ३३ वर्षीय लक्ष्मी वाइबा घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी सञ्जय सिंह थापाले जानकारी दिनुभयो ।
पुडासैनीको बायाँ खुट्टामा चोट लागेको छ । उहाँको हेटौँडा अर्थोपेडिक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौँमा रिफर गरिएको छ । बाइवाको बायाँ हातमा चोट लागेको छ । उहाँको हेटौँडा अस्पतालमा उपचार भएको थियो ।
भिमफेदी सुपिङभित्रि सडकखण्डमा सुपिङबाट भीमफेदी आउँदै गरेको ना.२ ह २६९८ नम्बरको अटो ब्रेक फेल भएर सडकमा पल्टिँदा दुर्घटना भएकाे थियो । अटोमा चार जना सवार थिए । अटो चालक सम्पर्कमा नरहेकाले खोजतलास कार्य भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।