• २९ वैशाख २०८२, सोमबार

‘संविधान र व्यवस्थालाई दोष दिनु हुँदैन’

blog

पोखरा समाचारदाता 

पोखरा, वैशाख २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुनै व्यक्ति र दलले गरेको गल्तीका कारण संविधान र व्यवस्थालाई दोष दिन नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको आयोजनामा सुरू भएको ल्होमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको दोस्रो दिन पोखरामा बोल्दै उहाँले जसले गल्ती गर्छ, उसलाई सजाय दिनु पर्छ भन्नुभयो । उहाँले खराबी व्यक्तिले गर्ने अनि व्यवस्थालाई दोष दिनु अर्थपूर्ण नहुने बताउनुभयो ।  हातका औँलामा घाउ आयो भने उपचार गर्ने हो, हात नै काटेर फाल्नु पर्छ भन्ने सोच मूर्खतापूर्ण हुने उहाँको भनाइ थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली प्रेस जगत्ले खेलेको भूमिका स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले सबैको योगदानबाट आएको संविधान र व्यवस्थालाई नेपाली प्रेसले नै संस्थागत रूपमा अगाडि बढाउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रता आजको आवश्यकता हो तर मूल्य, मान्यता, नीति र सिद्धान्तभन्दा बाहिर रहेका कतिपय छाडा मिडियाका कारण मूलधारका मिडियालाई समस्या परेकाले त्यस्ता मिडियाको नियमन गर्न जरुरी छ ।” 

आमनागरिकको हात हातमा प्रविधिको पहुँच बढ्दै जाँदा पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यमलाई एकै रूपमा बुझ्ने प्रवृत्ति हाबी भएको भन्दै उहाँले विशुद्ध सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा आएका विषय फरक हुन् भन्ने कुरा आमनागरिकलाई बुझाउन मूल धारका मिडिया लाग्नुपर्ने उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले कृषि र पर्यटनमा जोड दिइरहेको उल्लेख गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समय जलवायु परिवर्तनले मानव जीवनमा असर पार्न थालेको बताउँदै यस अन्तर्राष्ट्रिय सम्मेलनले आमनागरिकमा जलवायु परिवर्तनका कारण, असर र सम्भावनाको सन्देश प्रवाह हुने बताउनुभयो । 

अघिल्लो वर्ष संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेजले पोखरासहित अन्नपूर्ण आधार शिविरमा पुगेर गर्नुभएको जलवायु परिवर्तनको असरको प्रत्यक्ष अवलोकन र उहाँले सङ्घीय संसद्का साथै विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गर्नुभएको कुराले नेपाल र यहाँका हिमाली क्षेत्रमा परिरहेको प्रभावबारे अन्तर्राष्ट्रिय रूपमा ध्यानाकर्षण गराएको प्रमुख आचार्यले बताउनुभयो । 

उहाँले पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा यहाँका चिनारीलाई विश्व पर्यटन बजारमा पु¥याउन सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका उपाध्यक्ष सविना इन्द्रजितले प्रेस स्वतन्त्रताको रक्षाका लागि आफूहरू सबै एकै ठाउँमा भएको बताउँदै प्रेस स्वतन्त्रता, जलवायु परिवर्तनलगायतका विषयमा मिडिया केन्द्रित हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो । उहाँले गाजामा मारिएका १३० जना पत्रकारको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले युनियनले ल्होमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना गरेको बताउँदै यस सम्मेलनमा विश्वको बदलिँदो परिवेशमा प्रविधिको अवसर र चुनौतीका साथै मिडिया क्षेत्रले भोग्नु परेका समस्याबारे छलफल हुने बताउनुभयो । 

सम्मेलन अन्तर्गत आइतबार पोखरामा तीन वटा विषयगत प्रस्तुति तथा बहस भए । जसमा जलवायु सङ्कट र पत्रकारिता, एआई र न्यु मिडिया इन साउथ एसिया र  प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती रहेका थिए । स्वदेशी तथा विदेशी गरी करिब १५० जना पत्रकारको टोली सोमबार पर्वत, म्याग्दी, हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको छ ।