काठमाडौँ, वैशाख २९ गते । शारीरिक सुगठन (बडिबिल्डिङ) का खेलाडी र जिम प्रशिक्षकका रूपमा परिचित विनोद सुनार छोटो समयमै यस क्षेत्रमा स्थापित नाम भइसक्नुभएको छ । पेसा सुरु गरेको तीन वर्षको अवधिमा उहाँले १७ औँ धर्मश्री बडिबिल्डिङको ७५ औँ श्रेणीमा खेल्दै स्वर्ण पदकसहित समग्रमा पाँचौँ स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
सुनार भन्नुहुन्छ, “बडिबिल्डिङ भनेको आफ्नो शरीर देखाउने हो । त्यसमा पनि निर्णायकले क१िको दत्तचित्त भएर लागेको छ भनेर हेर्नुहुन्छ ।” उहाँले बडिबिल्डिङमा जानुअघि खानामा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उसिनेको खाना खाएर आफूलाई सक्दो रूपमा तयार गर्ने हो । उसिनेको चिकेन, उसिनेको तरकारी, अन्डा र प्रोटिन खानु पर्र्छ ।” बडिबिल्डिङ गाह्रो र खर्चिलो छ तर पनि स्वास्थ्यका लागि फाइदाजनक छ । २६ वर्षको उमेरबाट जिममा रुचि राख्नुहुने सुनारले सुरुमा बडिबिल्डिङमा बुटवल श्रीको टाइटल हात पार्नुभएको थियो ।
बडिबिल्डिङमा आफ्नो भविष्य देख्नुभएका सुनारले नेपालका लागि राम्रो बडिबिल्डरका रुपमा स्थापित हुन सजिलो हुने बताउनुभयो । यसबाट खासै कमाइ नहोला तर आत्मसन्तुष्टि पनि पर्याप्त पाइन्छ, उहाँ थप्नुहुन्छ, “यो पेसाबाट जीवन चलाउन सकिने भन्ने पनि छैन । बडिबिल्डिङ गरिसकेपछि आफैँले जिमखाना खोल्न पनि सजिलो हुन्छ ।”
उहाँले भारतमा आयोजित प्रतियोगितामा पहिलो पटक ६५ किलोग्राम तौल समूहमा भाग लिनुभएको थियो । जहाँ उहाँले स्वर्ण पदक जित्नुभएको थियो । दोस्रो पटक मिस्टर दिल्लीमा प्रतिस्पर्धा गर्दा पनि उहाँले स्वर्ण पदक
प्राप्त गर्नुभयो । त्यतिबेला उहाँको तौल ७० केजी थियो । बडिबिल्डिङमा तौल हुने भनेको ५५ केजीदेखि लिएर ६५, ७० हुँदै जाने हो । बडिबिल्डिङका लागि धेरै मेहनत र धैर्य चाहिने सुनार भन्नुहन्छ, “बडिबिल्डिङ गर्नेले पानी पनि नापेर पिउनु पर्छ ।”
सुनार बडिबिल्डिङ मात्र गर्नुहुन्न, नयाँ बानेश्वरमा रहेको प्लाटिनम फिजिकल फिटनेसमा जिम प्रशिक्षकका रूपमा पनि काम गर्नुहुन्छ । जिममा काम गर्न थालेको दुई वर्ष जति भएको उहाँ भन्नुहुन्छ, “मानिस अहिले आफ्नो शरीरप्रति सचेत भएका छन् । खानपिन र व्यायामतर्फ ध्यान दिन थालेका छन् । जसका कारण जिम आउनेको सङ्ख्या अहिले बढेको छ । जिम गर्दा समयको पावन्दी हुँदैन ।” उहाँ भन्नुहुन्छ, “एउटा मानिसले छ महिनामै जिममार्फत शरीरलाई तन्दुरुस्त बनाउन सक्छ ।” जिम गर्न थालेपछि त्यसका लागि आहार पनि त्यही अनुसारको हुनुपर्ने सुनार बताउनुहुन्छ । यो सबै आहारको खेल हो । जिमप्रति धेरैको रुचि भएकाले यसको व्यापारमा खासै उतारचढाव नहुने उहाँ बताउनुहुन्छ ।