• २९ वैशाख २०८२, सोमबार

मध्यपहाडी लोकमार्गको ग्याग्दी खोलाकाे पुल निर्माणमा ढिलाइ

blog

मध्यपहाडी लोकमार्ग अन्तर्गत सुन्दरबजारको ग्याग्दी खोलामा निर्माणाधिन पुल । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, वैशाख २८ गते । पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङको सुन्दरबजार सडक खण्डमा पर्ने ग्याग्दी खोलामा पुल निर्माण कार्य ढिलाइ भएको छ । लामो समयदेखि पुलको संरचना अधुरो रहँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

ग्याग्दी खोलामा पुल निर्माणको काम सुरु भएको करिब एक वर्ष बितिसकेको भएपनि हालसम्म ढलानसमेत हुन सकेको छैन । यसले गर्दा यस क्षेत्र भएर यात्रा गर्ने सयौं यात्रुहरू, स्थानीयवासीहरू, विद्यार्थी तथा बिरामी बोक्ने सवारीसाधनहरूले सास्ती भोग्दै आएका छन् । बर्खा लागेपछि यस खोलाले झनै दुःख दिने भएकाले स्थानीय चिन्तित बनेका छन् । 

पुल निर्माणमा ढिलाई हुँदा बर्सेनि वर्षायाममा अस्थायी बाटो वा खोलामै जोखिम मोल्दै यात्रुहरू गन्तव्यमा पुग्नुपर्ने स्थानीय विद्याज्योति माध्यामिक विद्यालयका शिक्षक हस्त गुरुङले बताउनुभयो । 

सुन्दरबजार नगरपालिका ५ का अध्यक्ष श्रीकाजी गुरुङले ग्याग्दी खोलाको पुल निर्माणको ढिलाइले स्थानीयवासी र यात्रुहरूलाई प्रत्यक्ष असर परेको बताउनुभयो । उहाँले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि निर्माण व्यवसायीले उल्लेखनीय प्रगति नगरेको बताउनुभयो । 

यता, पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी सुमन गिरीले भने प्राविधिक पक्ष र केही सामग्री आपूर्तिमा समस्या रहेकाले पुल निर्माणमा ढिलाई भएको स्विकार गर्नुभयो । उहाँले अबका दिनमा  निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउने उहाँले बताउनुभयो । उहाँले जेठ महिनामा पुल ढलान गर्नेगरी काम गर्न लागिएको बताउनुभयो । 

स्थानीय जनप्रतिनिधिहरूले भने निर्माण कम्पनीलाई थप समय नदिई उच्च निगरानीमा काम गराउनुपर्ने माग गरेका छन् । मनसुन सुरु भएसँगै खोलामा पानीको बहाव बढ्ने भएकाले तत्काल ढलान नभएमा समस्या भोग्नुपर्ने उहाँहरूको भनाइ छ । 

ग्याग्दी खोलाको यो पुल सुन्दरबजार नगरपालिकाको पश्चिमी भेग, बेँसीसहर नगरपालिका ४ तथा मध्यनेपाल नगरपालिकाका बासिन्दाका लागि अत्यन्त महत्त्वपूर्ण छ । पुल निर्माण पूरा भएसँगै यस क्षेत्रको आवागमनमा स्थायित्व र सहजता आउने छ । हाल पुलको आधार (फाउन्डेसन) र केही संरचनागत काम मात्रै सम्पन्न भएको छ ।