उर्लाबारी समाचारदाता
उर्लाबारी, वैशाख २८ गते । कृषिमा अर्ध यान्त्रिकीकरण हुँदा दक्षिणी मोरङका मकै उत्पादक किसान यतिबेला चिन्तामा छन् । वैशाखको २३ र २४ गते दक्षिणी मोरङमा भीषण वर्षा भयो । अधिकांश किसानले मकै छोडाएर सुकाउने समय थियो तर मेसिनले छोडाएको मकै भण्डारण गरी राखेकै ठाउँमा बाछिटा पसेर भिज्यो । प्रति बिघा दुई सय मनसम्म उत्पादन भएको मकै सुकाउन नपाउँदा धेरै किसानको मेहनत, श्रम र लगानी खेर गएको छ ।
बेमौसमी पानीले मकै भिजाएपछि किसानले यतिबेला विराटनगर–रङ्गेली–गौँरीगन्ज हुँदै भद्रपुरसम्मको हुलाकी सडकमा मकैको बिस्कुन लगाएका छन् । मकैको बिस्कुनले सडक यातायातमा समस्या भइरहेको किसानलाई थाहा छ । रङ्गेली–७ का गुलाबचन्द सहनीले भन्नुभयो, “खेती गहिरो भागमा पर्छ । सामान्य पानी पर्दा खेतमा पानी जम्छ । मकै उत्पादन गत वर्षभन्दा यो वर्ष राम्रो भयो तर मकै सुकाउने ठाउँ छैन । थोरै उत्पादन हुँदा त्रिपाल, चटलमा सुकाउने हो । बिघाको १८० मन मकै फलिरहेको छ । यत्रो परिमाणको मकै सडकमा सुकाउनु बाध्यता हो ।” तीन तहका सरकारले मकैको बिउमा अनुदान दिन्छन् । सिँचाइका लागि बोरिङको बन्दोबस्त गरिदियो । खोसेलासहित मकै छोडाउने यन्त्र पनि गाउँमै उपलब्ध छ तर समयमा मल र मकै सुकाउने ड्रायर मेसिन उपलब्ध हुँदैन । लाखौँ खर्चेर उत्पादन गरेको अन्न खेर जान त दिनु भएन नि ।” सडकमा मकै सुकाउनु बाध्यता भएको उहाँको भनाइ छ ।
अधिकांश किसानले मकै सडकमै बिस्कुन लगाउँछन् । रङ्गेली–७ का उगनलाल मण्डलले भन्नुभयो, “एक बिघामा मकै लगाउन ५० हजार रुपियाँ लगानी हुन्छ । हामी आफैँ खट्छौँ । जन (मजदुर) लगाउने हो भने ८० हजारदेखि एक लाख रुपियाँ खर्च हुन्छ । बिघामा १८० मन मकै फलेन भने घाटा लाग्छ । यो वर्ष मकैको मूल्य सुरुमै प्रतिक्विन्टल तीन हजार पाँच सय भएको छ । मूल्य राम्रो आए पनि बेमौसमी पानीले मकै भिज्दा धेरै जसो किसान निराश छन् ।”
रतुवामाई–५, परेवाखोपीका हरिप्रसाद श्रेष्ठले भन्नुभयो, “पहिलो लटको झन्डै चार सय मन मकै भिज्यो । सुकाउने उपाय केही नहुँदा ठुलो घाटा बेहोर्नु प¥यो । श्रेष्ठको गाउँ सडकभन्दा भित्र पर्छ । श्रेष्ठले आफ्नो नीजि चार बिघा र ११ बिघा भाडामा लिएर १५ बिघा मकै लगाउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कबाट कृषि कर्जा लिएर खेती गरिरहनुभएका श्रेष्ठले भन्नुभयो, “कृषि मजदुर पनि आवश्यक परेका बेला पाइन्न । मकै रोप्ने मेसिन छ । गोड्न मजदुर नै लाग्नु पर्छ । भाँच्न मजदुर चाहिन्छ । खोसेलासहित र नाङ्गो मकै छोडाउने मेसिन आयो । सुकाउने प्रविधि छैन ।” उहाँले अर्ध यान्त्रिकीकरणले गर्दा किसान मारमा परेको सुनाउनुभयो । पहिले पहिले कृषि मजदुरले वर्षभरि काम पाउँथे । त्यसैले गाउँमै बस्थे । अहिले आधाउधी काम यन्त्रले गर्छ । गाउँमा काम नपाइने भएपछि कृषि मजदुर भारतको पन्जाव र हरियाणातिर लागेका छन् ।
श्रेष्ठले यो वर्ष मात्र १५ लाख रुपियाँ खर्चेर पाइनर तीन हजार ३५५ जातको मकै लगाउनुभएको थियो । अहिलेको मूल्य रहे पनि यो वर्ष २० लाख रुपियाँ बचत हुने उहाँको अनुमान छ । श्रेष्ठले खेतीका लागि आवश्यक सबै यन्त्र उपकरण जोडिसक्नुभएको छ । ट्याक्टर, धान काट्ने मेसिन, छोडाउने मेसिन सबै उहाँसँगै छ । अर्को वर्षदेखि लागत घटाएर अझ बढी आम्दानी लिने श्रेष्ठले बताउनुभयो तर किसानलाई मकै सुकाउने ड्रायर मेसिन अनिवार्य भइसक्यो ।