• २९ वैशाख २०८२, सोमबार

आठ वर्षपछि बन्यो पुल

blog

उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको स्ल्याब ढलान गरिँदै । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, वैशाख २८ गते  । उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणले आठ वर्षपछि गति लिएको छ । प्राविधिक समस्याका कारण लामो समयसम्म निर्माण अलपत्र हुँदै आएको दुई जिल्ला जोड्ने मोटरेबल पक्की पुलको कामले अहिले गति लिएको हो । 

 सम्झौता अनुसार पाँच वर्षअघि नै निर्माणको काम सम्पन्न हुनुपर्ने सो पुल निर्माणका क्रममा प्राविधिक समस्या आएपछि पहिलेको डिजाइन परिवर्तन गरेर नयाँ प्रविधिको डिजाइन स्वीकृत गर्ने क्रममा निकै समय लागेकाले निर्माण कार्य ढिलो भएको निर्माण कम्पनीका साइट इन्चार्ज हरि ज्ञवालीले बताउनुभयो । 

उदयपुरको चौदण्डीगढी नगरपालिका–१, रानीटार र भोजपुरको आमचोक गाउँपालिका– १०, पाँचा जोड्ने सुनकोशी नदीको निर्माणाधीन मोटरेबल पक्की पुल लामो समयदेखि अलपत्र परेको थियो । निर्माण कम्पनीले तीन वर्षमै सक्नुपर्ने उदयपुर भोजपुरको सिमानास्थित सुनकोशी रानीटार पाँचा पक्की पुल आठ वर्षसम्म यत्तिकै थन्कियो । 

डिजाइन परिवर्तनपछि चालु आर्थिक वर्षमा पुल निर्माणले गति लिँदा निर्माणाधीन पुलको भौतिक प्रगति ४३ प्रतिशत पुगेको पुल सेक्टर धरानका साइट इन्जिनियर नवीन साहले बताउनुभयो । भोजपुरको दक्षिणी भेगलाई उदयपुरसहित तराईसँग जोड्न रानीटार मोटरेबल पक्की पुलले सहज हुने छ । निर्माण कम्पनीले सम्झौता भएको पहिलो वर्ष सुनकोशीको वारिपारि दुई ठाउँमा पिल्लर लगाउने कामबाहेक अरू कुनै काम गरेको थिएन । 

निर्माणको जिम्मा लिएको रसुवा स्वच्छन्द एसएनएस पप्पु (जेभी) ज्वाइन्ट भेन्चरले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल असार ३० मा ठेक्का सम्झौता गरी काम थालेको थियो । कम्पनीले सम्झौता गरेको मितिदेखि ३६ महिनाभित्र अर्थात् २०७७ साल  असार ३० मा सम्पूर्ण काम सक्ने गरी सम्झौता गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साल भदौँ ३१ गते उक्त पुल निर्माणको शिलान्यास गर्नुभएको हो । 

सुरुमा प्री वायल फाउन्डेसन प्रविधिमा सुनकोशी नदीमा छ पिल्लर भएको दुई सय मिटर लम्बाइ ११ मिटर चौडाइ रहेको मोटरेबल पक्की पुल निर्माण गर्ने गरी सम्झौता भएको हो । पुल निर्माणका क्रममा सुनकोशीमा वारिपारि एक/एक पिल्लर निर्माण गरेपछि नदीबिचमा प्री वायल फाउन्डेसन निर्माण गर्न प्राविधिक समस्या आएपछि २०८० फागुन २८ गते ‘पाइल’ फाउन्डेसनमा डिजाइन परिवर्तन गरी काम गर्न थालिएको निर्माण कम्पनीका साइट इन्चार्ज हरि ज्ञवालीले बताउनुभयो ।

डिजाइन ‘रिभ्यु’ स्वीकृत भएसँगै निर्माण व्यवसायीले २०८० फागुन २८ गतेदेखि रानीटारमा मोटरेबल पक्की पुल निर्माणको काम थालेको हो । सुरुको डिजाइनमा पुलका छ वटा प्री वेल फाउन्डेसन राख्नुपर्ने थियो । अहिले डिजाइन परिवर्तन भएसँगै छ वटा ‘पायल’ फाउन्डेसनमा काम भइरहेको छ । निर्माणाधीन मोटरेबल पक्की पुलमा छ वटा पिल्लर रहेकामा अहिले चार वटा पिल्लर निर्माण सम्पन्न भई दुई वटा स्ल्याब ढलान भइसकेको धरान पुल सेक्टरका साइट इन्जिनियर नवीन साहले बताउनुभयो ।

निर्माणाधीन मोटरेबल पक्की पुल दुई सय मिटर लम्बाइ र ११ मिटर चौडाइ तथा छ वटा पिल्लरमा पाँच वटा स्ल्याब रहने इन्जिनियर साहको भनाइ रहेको छ । पाइलिङ प्रविधिमा निर्माण भएको पिल्लर नदीमुनि २० मिटर र नदीमाथि १८ मिटर रहने इन्जिनियर साहले बताउनुभयो । ठेक्का सम्झौता अनुसार २५ करोडमा निर्माण हुन लागेको पुल यही गतिमा निर्माण भए आगामी २०८३ असार मसान्तमा निर्माण सकिने उहाँको भनाइ छ । 

यसैबिच सो पुल निर्माण सम्पन्न हुने अन्तिम पटक थपिएको म्याद भने यही २०८२ असार मसान्तमा समाप्त हुने धरान पुल सेक्टर कार्यालयका डिई दीपक झाले बताउनुभएको छ । बजेट अभावमा पाँच करोड बराबरको बिल पेस गरेको भए पनि भुक्तानी पाउन नसकेको निर्माण कम्पनीले जनाएको छ ।  बिल अनुसारको रकम विभागमा माग गरिएको र असार मसान्तसम्म भुक्तानीको व्यवस्था मिलाउने सडक विभागले जनाएको छ ।