• २८ वैशाख २०८२, आइतबार

‘निर्माणमैत्री कानुन बनेनन्’

blog

मकवानपुर समाचारदाता

मकवानपुर, वैशाख २८ गते ।  नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माणमैत्री ऐन कानुन नबन्दा निर्माण व्यवसायी बर्सौंदेखि समस्यामा पर्दै आएको बताउनुभएको छ । 

देशको आवश्यकता र चाहना विकास र समृद्धि भएको भन्दै उहाँले पूर्वाधार निर्माणलाई गति दिन र गुणस्तरीय निर्माणका लागि निर्माणमैत्री र विकासमैत्री ऐेन कानुन आवश्यक भएको बताउनुभयो ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरको २५ औँ साधारण सभाको शनिबार हेटौँडामा उद्घाटन गर्दै उहाँले खरिद नियमावलीमा पछिल्लो पटक भएको संशोधनले केही सहज भएको र निर्माण व्यवसायीलाई राहत मिल्ने बताउनुभयो । 

“सार्वजनिक खरिद ऐन संशोधनका क्रममा छ, निर्माणमैत्री ऐन बनाउन सबै एक जुट भएर लाग्नु पर्छ,” अध्यक्ष सिंहले भन्नुभयो । सरकारी टोलीसहित चीन भ्रमणमा जाँदा पनि नेपालको निर्माणसम्बन्धी कानुनबारे प्रश्न उठेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालको निर्माणसम्बन्धी ऐन कानुन निमाणमैत्री छैन । संशोधन आवश्यक छ । धेरै घटाघटमा ठेक्का लिने प्रवृत्ति ठुलो समस्या बन्दै आएको छ ।” 

महासङ्घका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा एडी नैतिक र नीतिगत रूपमा गर्ने काममा व्यवसायी स्पष्ट हुनुपर्ने भन्दै कम दरमा ठेक्का हाल्ने प्रवृत्तिले समस्या बनेकाले १५ प्रतिशतभन्दा बढी घटेर ठेक्का नहाल्न निर्माण व्यवसायीलाई सुझाउनुभयो ।