हेटौँडा समाचारदाता
हेटौँडा, वैशाख २८ गते । बजारमा सहजै पाइने उन्नत बिउ र घरमा बिउ राख्दा हुने झन्झटले रैथाने मकैको बिउ हराउँदै गएको छ । किसानले पुराना बालीको बिउ जोगाउने चलन हराउँदै जाँदा उन्नत (हाइब्रिड) को प्रयोग बढ्दै गएको हो । ९० प्रतिशत किसानले आफ्नो रैथाने बिउ छोडेर बजारको किनेर खेती लगाउन थालेपछि स्थानीयस्तरमै पाइने मकैको बिउ मासिँदै गएको छ ।
स्थानीयस्तरमै उपलब्ध हुने खुमलटार, रामपुरे र मनकामना जातको मकैको बिउ हराउँदै गएको बकैया गाउँपालिका–४, तुलसीपुरका हस्तबहादुर कार्कीले बताउनुभयो । अहिले हाइब्रिड जातको बिउ प्रयोग गरेर मकै खेतीमार्फत आम्दानी गरिरहेको उहाँले बताउनुभयो । “बाजेबाबुको पालासम्म स्थानीयस्तरमै उपलब्ध हुने रैथाने मकैको बिउ रोप्ने गरेका थियौँ, स्थानीय जातको मकै कम उत्पादन हुन थालेपछि अहिले हाइब्रिड जातको मकै लगाउने गरेका छौँ,” कार्कीले भन्नुभयो ।
दानाका लागि बिक्री हुने हाइब्रिड मकैको बिउ एक पटक प्रयोग गरेपछि पुनः अर्को वर्ष बिउ किन्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । “स्थानीयस्तरमा पाइने मकैको जस्तो हाइब्रिडको बिउ काम लाग्दैन, प्रत्येक वर्ष बिउ किन्नु पर्छ,” उहाँले थप्नुभयो । हाइब्रिड मकैको प्रत्येक पटक छ सय रुपियाँका दरले बिउ किन्नु परेको उहाँको भनाइ छ ।
मङ्सिरमा आठ कट्ठा क्षेत्रफलमा मकै लगाउनुभएका किसान कार्कीले वैशाखमा मकै भाँचेर बिक्री गरेको बताउनुभयो । एक कट्ठामा हाइब्रिड जातको मकै तीनदेखि चार क्विन्टलसम्म फल्ने गरेको किसानको भनाइ छ । फागुन र चैतमा आएको हुरीबतासले भने केही नोक्सान भएको किसानको गुनासो छ । यहाँका किसानले उत्पादन गरेको हाइब्रिड मकै दानाका लागि प्रतिकेजी ३५ रुपियाँका दरले बिक्री हुने गरेको छ । खरिदकर्ता किसानको बारीमै पुग्ने गरेका छन् । फौजी किरा र गभारोले मकै खेतीमा धेरै असर गरेको बकैयाका अर्का किसान केदार लामिछानेको भनाइ छ । उहाँले पनि हाइब्रिड जातको मकै खेती गर्नुभएको छ ।
रैथाने बिउको मकैको बोट हलुको र फल्नसमेत धेरै समय लाग्ने भएकाले किसानले विभिन्न जातको हाइब्रिड मकै लगाउने गरेको पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले बताउनुभयो । किसान आफैँले बिक्रीका लागि ल्याउँदा ढोडसहितको मकै प्रतिकेजी छ रुपियाँ र पालिकाले किसानको बारीबाटै ढुवानी गरेर ल्याउँदा प्रतिकेजी चार रुपियाँ दिने गरेको उहाँले बताउनुभयो । हाइव्रिड मकै लामो समयसम्म टिकाउ नहुने र चाडै किरा लाग्ने गरेको किसानको भनाइ छ । छोटो समयमा उत्पादनबाट राम्रो मूल्य लिन हाइब्रिड जातको मकैको बिउ प्रयोग गर्ने गरियता पनि यहाँका किसानले बारीमा स्थानीयस्तरमै पाइने मकैको बिउ प्रयोग गर्नुभएको छ । मकवानपुरको बागमती किनार र अन्य पालिकाले पनि रैथाने मकैको बिउको सट्टा हाइब्रिड बिउ प्रयोग गर्दा मकैको बिउमा परनिर्भर बन्दै गएको छ ।