जीवछ यादव
लहान, वैशाख २७ गते गते । यतिबेला सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान चलिरहेको छ । यद्यपी यो अभियान औपचारिकतामा मात्रै सिमित भइरहेको छ । विद्यालयले विश्वसनीय प्रतिबद्धता र अभिभावकमा चेतना नभए अभियान प्रभावकारी नहुने आवाज उठ्न थालेको छ ।
केहि वर्ष यता प्रभावकारी हुन नसकिरहेको विद्यार्थी भर्ना अभियानको तथ्याङ्कलाई हेर्ने हो भने प्रष्ट हुन्छ । नाम चलेको शैक्षिक इतिहास कायम गरेका विद्यालयहरूमा कक्षा १ मा भर्ना अभियान कमजोर देखिएको छ ।
सामुदायिक विद्यालयमा अति विपन्न र दलित समूदायका बालबालिकाहरू मात्र भर्ना भइरहेका छन् भने हुनेखाने वर्गका बालबालिकाहरू सामुदायिक विद्यालयमा भर्ना भएका छैन ।
यसैगरी, निःशुल्क पढाउने सरकारी विद्यालयमा भने विद्यार्धी भर्ना सुनसान छ भने महँगो शुल्क त्यति विद्यार्थी भर्ना संस्थागत विद्यालयहरूमा बढ्नुले हाम्रो समाज कतातर्फ गइरहेको छ ? सोचनीय विषय भएको वरिष्ठ लेखक रारिझन यादव बताउनुहुन्छ ।
सामुदायिक विद्यालयको भर्ना अभियानलाई प्रभावकारी बनाउनका लागि विद्यालयको तर्फबाट विश्वसनीय प्रतिबद्धता र अभिभावकहरूमा सचेतना आवश्यक रहेको दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुन्केको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘अति विपन्न र दलित समूदायका बालबालिका मात्रै सामुदायिक विद्यालयमा भर्ना भइरहेको छ । विद्यालयमा पढाउने शिक्षक जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरू कसैको बालबालिका सामुदायिक विद्यालययमा भर्ना भइरहेको छैन ।’’
शिक्षमा सरकारको लगानी बालुवामा पानी खन्याएको जस्तो नहोस् । यसको औपचारिक रूपमा भर्ना अभियान मात्रै गरेर पुग्दैन, विद्यालयले अभिभावकहरूलाई विश्वास दिलाउन आवश्यक छ भने अभिभावकहरूमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिँइदैन फैलिएको भ्रम हटाउन आवश्यक रहेको मानव अधिकारवादी राजकुमार राउतको धारणा छ ।
यस पटकको एक महिना शिक्षक महासङ्घको नेतृत्वमा भएको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूमा भर्नादर झन कम हुने सङ्केत देखिएको छ । शिक्षकहरू काठमाडौँमा आन्दोलन गरिरहँदा यता संस्थागत विद्यालयहरूले भर्ना अभियान सकेर पढाइ पनि सुरु गरिसकेको थियो । अवकास प्राप्त माध्यमिक विद्यालयका शिक्षक रामविहारी साहले सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण नबदलिए कक्षा पाँचसम्म भर्ना नै नहुने अवस्था मधेश प्रदेशमा देखिएको बताउनुभयो ।
लहान नगरपालिकाले सबैभन्दा बढी शिक्षामा बजेट विनियोजन गरेको नगर प्रमुख महेशप्रसाद चौधरीले भन्दै प्रत्येक महिना प्रधानाध्यापकहरूको मासिक बैठक गरेर सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार कसरी गर्ने विषयमा शिक्षा नीति बनाउने गरेको बताउनुभयो । उहाँको अनुसार सामुदायिक विद्यालयको सुधार एकल प्रयासबाट मात्रै संभव छैन । सरोकारवाला सबैले साकारात्मक सोच बनाउन आवश्यक छ । अब विद्यालयको तर्फबाट शैक्षिक ग्यारण्टीको प्रतिबद्धतापत्र रअभिभावकहरूलाई सचेत बनाउने कार्यक्रम ल्याउन लहान नगरपालिकाले शिक्षा नीति बनाउन लागेको छ ।