काठमाडौँ, वैशाख २७ गते । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानुनले विभेद गर्नु लज्जास्पद भएको बताउनुभएको छ ।
काठमाडौँमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक व्यवस्थाले कानुन परिस्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताउनुभयो ।
नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भए पनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद भएको उहाँको भनाइ छ । समाजले कुष्ठरोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरु मानसिक समस्यामा पुग्ने गरेको बताउनुभयो । कुष्ठरोग औषधीको सेवनपछि पूर्णरूपमा ठिक हुने भएकाले रोगीलाई महारोग भनेर तर्साउन नहुने उहाँको भनाइ छ । उहाँले अरु अशक्तहरुले विभिन्न कला देखाए जस्तै कुष्ठरोगीका लागि पनि कुनै सिर्जनात्मक वातावरणको निर्माण गरी सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
‘‘मुलुकी देवानी संहितामा अहिले पनि महारोग भनेर परिभाषित गर्दा मलाई लज्जास्पद लाग्यो । हामी कहाँ रहेछौँ अहिलेसम्म ? यो धेरै परिस्कृत भयो भनेको छ कानुनले त यहाँहरूलाई अझै विभेद गरेको रहेछ । कानुनले विभेद गर्नु लज्जास्पद भयो । अरु रोगबाट पीडितको कला देखाएको देखेको छु मैले उहाँहरुका लागि पनि उहाँहरुले जे सक्नुहुन्छ वातावरण सिर्जना गर्यो भने सरकारले त्यसलाई फन्डिङ गर्यो भने सामाजिक भत्ता छ छैन भन्दाखेरि ३० हजार अशक्ततामा रहेछ उहाँहरूले भत्ता पाएको छ होला ।,’’ उहाँले भन्नुभयो, ‘‘दुई लाखभन्दा बढी दर्ता भएको छ तर उहाँहरूले पाएको छैन त्यो पनि दुःखलाग्दो कुरा हो । जब हामी नाम दिन्छौँ नि महारोग भनेर त्यत्तिकै मान्छे तर्सिन्छ, डिप्रेसनमा जान्छ मानसिक समस्या हुन्छ । धेरै जना मानसिक समस्या भएको पनि मैले पाएको छु ।’’
उपसभामुख रानाले कुष्ठरोगीहरूको आवाज संसद्सम्म पुग्नुपर्ने बताउनुभयो । कुष्ठरोगसम्बन्धी विधेयक ल्याउन आफूले सहयोग गर्ने उहाँको भनाइ छ ।