स्मिता अर्जेल
मकवानपुगढी, वैशाख २७ गते । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारदेखि आयोजना हुने ‘प्रदेश युवा सम्मेलन २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
आइतबारदेखि मङ्गलबारसम्म सञ्चालन हुने सम्मेलनमा तीन सयभन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहने छ । प्रदेश युवा परिषद्ले आयोजना गर्न लागेको यो तेस्रो श्रृङ्खला हो ।
त्यसो त, बागमती प्रदेश सरकारले यस युवा सम्मेलनलाई आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्दै वार्षिक रुपमा बजेट समायोजन गरेको छ । फलस्वरुप बितेका दुई आर्थिक वर्षमा १० हजार पाँच सयभन्दा बढी युवाले सीप सिकेका थिए भने सीप सिकेका चार सय पाँच जना युवा उद्यमशीलतामा जोडिएको प्रदेश युवा परिषद्ले जनाएको छ ।
शनिबार बागमती प्रदेश युवा परिषदले पत्रकार सम्मेलनको आयोजना गर्दै भोलिदेखि सुरु हुने कार्यक्रम ढाँचा र उद्देश्यबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंले बागमती सरकारको नीति कार्यक्रम र बजेटमै युवा सीप वर्ष घोषणा गराउन परिषद् सफल भएको उल्लेख गर्नुभयो ।
‘‘सरकार शासनमा युवा सहभागिता खोज्ने, युवा शासनमा आफ्नो भूमिका नदेख्ने परिपार्टीलाई अन्त्य गर्दै युवा र सरकारलाई एकै थलोमा राखेर युवामैत्री नीति निर्माणमा युवा र सरकारबिच संवाद गराउन्दै आएका छौं,’’ उहाँले भन्नुभयो ।
उपाध्यक्ष चौलागाईं भन्नुहुन्छ, ‘‘बागमती प्रदेशका हरेक युवा सीपयुक्त भएर उद्यमशीलतामा जोडिनुपर्छ भन्ने ध्येयका साथ परिषद्का योजनाहरु अघि बढिरहेका छन् । सीप र उद्यमशीलतामा युवालाई जोड्न प्रदेश युवा सम्मेलन कोसेढुङ्गा सावित हुनेमा हामी विश्वस्त छौं ।’’
बागमतीमा गत २०८० सालदेखि युवा सम्मेलनको आयोजना हुँदै आएको छ । सम्मेलन प्रदेशस्तरमा युवाको नीति संवाद, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवर्धन गर्न महत्त्वपूर्ण अवसरको रुपमा स्थापित भएको छ । सम्मेलनमा भौतिक रुपमा तीन सय युवाको सहभागिता रहेता पनि डिजिटल माध्यमबाट लाखौं युवालाई सहभागी गराउने परिषद्को योजनाछ ।
सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठी आयोजना हुनेछन् ।
परिषद्को तथ्याङ्क अनुसार दोस्रो सम्मेलनपछि चार सय पाँच जना युवाले आफ्नै उद्यम सुरु गर्ने प्रेरण पाएका थिए भने हालसम्म १० हजार पाँच सयभन्दा बढी युवा दक्ष जनशक्ति निर्माण भइसकेका छन् ।
परिषद्ले २०७८ मा गरेको सर्वेक्षण अनुसार, सात सय ५० जना युवाले नीति संवादको प्लेटफर्मको अभाव महसुस गरेको तथ्यको आधारमा परिषद्ले यस खालको सम्मेलनको अवधारणा ल्याइ सोही अनुरुप कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
साथै सम्मेलनमा युवा उद्यमीहरुको प्रदर्शनी, सीप वर्षअन्तर्गत तालिम प्राप्त युवाहरुको अनुभव र प्रेरणादायी कथा, अन्तरप्रदेशीय युवा उद्यम र रोजगारीबारे अन्तर संवाद, नेपालकै पहिलो सुरुङमार्ग रहेको चुरियामाई मन्दिरको अवलोकन भ्रमण र हाइकिङ साथै युवामा सकारात्मक सोच विकासका लागि प्रतिभा र कला प्रदर्शनी गर्दै सम्मेलन घोषणापत्र जारी गरिनेछ ।