• २५ वैशाख २०८२, बिहिबार

दुई करोड लगानीमा हाडिकोटमा पर्यटकीय पूर्वाधार निर्माण

blog

बागलुङको जैमिनी नगरपालिका १० राङखानीस्थित हाडिकोटा टापुमा निर्माण गरिएको भ्यू–टावर । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख २५ गते । पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको जैमिनी नगरपालिका १० राङखानीको हाडिकोट टापुमा २ करोड बढी लगानीमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । समुन्द्री सतहदेखि २ हजार १ सय ९५ मीटर उचाइमा अवस्थित हाडिकोट टापुलाई पर्यटकीय गन्तव्य बनाउन गण्डकी प्रदेश सरकार र नगरपालिकाको बजेटबाट पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो ।

सडक सञ्जालले जोडिएको हाडिकोटलाई पैदलमार्गबाट जोड्न ५० लाख रुपियाँको लगानीमा बिहाडथलादेखि एक किलोमिटर पैदलमार्ग समेत निर्माण गरिएको छ । पदमार्गमा थप ५ सय मिटर सिंढी बनाउने काम बाँकी रहेको वडाध्यक्ष श्रीप्रसाद थापाले बताउनुभयो । हाडिकोटमा यसअघि तीन तले भ्युटावर बनिसकेको छ । 

‘‘कुश्मीसेरा नाम्दुक हुँदै बरेङ जोड्ने सडकको केही खण्ड कालोपत्रे भैसकेकाले डाँडाखानी देखिको झण्डै ५ किमी सडक स्तरीय बनाउन सकेमा हाडिकोटमा पर्यटक धेरै लैजान सकिन्छ’’ थापाले भन्नुभयो । वडा, नगरपालिका र प्रदेश सरकारको बजेटबाट भ्युटावर निर्माण गरिएको हो । परम्परागत पैदलमार्गको प्रयोग गरेर पर्यटक हाडिकोट टापुमा पुग्न थालेको वडाध्यक्ष थापाको भनाइ छ ।

हाल बिहाडथलादेखि हाडिकोट पुग्न बनाइएको पदमार्गलाई तल्लो खण्डमा विस्तार गर्ने नगरपालिकाको योजना छ । हरेक वर्ष बजेट विनियोजन गरेर खण्ड खण्डमा पदमार्ग बनाइरहेको योजना अधिकृत प्रेम सापकोटाले बताउनुभयो । यो पदमार्गलाई कालीगण्डकी नदीसम्मै जोड्ने गुरुयोजनामा उल्लेख छ । कालीगण्डकी काेरिडोरमा सवारी साधन छाडेर तीन घण्टाको उकालो चढेपछि हाडिकोट पुग्न सकिने गरी पदमार्गको अवधारणा ल्याइएको हो । जैदीको बेगलबगर, धुल्लु, व्याडथला हुँदै हाडिकोट पुग्ने पदमार्ग चार किमीभन्दा लामो हुने छ ।

सापकोटाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखि हाडिकोटमा पुर्वाधार निर्माण गर्न अहिलेसम्म २ करोड बढी लगानी भएको छ । यहाँ सत्तल, घेराबार र केही शिलालेख राख्ने लक्ष्य छ । खानेपानीको अभाव भएकोले व्यवस्थापन गर्ने नगरको योजना छ । हाडिकोटकै प्रवर्धनका लागि राङखानीको नाम्दुक बजारमा होटल तथा किराना पसलहरू खुल्ने क्रम चलिरहँदा पर्यटकलाई समेत सहज हुन थालेको छ ।

हाडिकोटबाट दक्षिणमा गुल्मी, पूर्वमा पर्वत, उत्तरतर्फ धौलागिरि र अन्नपूर्ण हिमाली श्रृङ्खला, देखिन्छ । हाडिकोट उक्लेर रमाउने, वनभोज खाने र प्राकृतिक दृश्यावलोकन गर्नेको आजकल भिड समेत लाग्न थालेको छ । हरेक वर्ष फागु पूर्णिमामा यहाँ मेला लाग्छ । हाडिकोटमा अवस्थित देवीको पूजा गरेर भेडाको बली दिने चलन छ । स्थानीय मगर समुदायले सोही दिन कुल पूजा पनि गर्छन् ।

हाडिकोट भुरेटाकुरे राज्यको स्थल भएकोले यहाँ देवी पुज्ने, बली दिने र पुराना हातहातियारको सङ्ग्रह गरिएको छ । हिमाल हेर्ने, उचाइमा पुगेर सूर्योदयको दृश्यावलोकन गर्न पर्यटक हाडिकोट पुग्ने गर्छन् । ऐतिहासिक र धार्मिक स्थल समेत रहेको हाडिकोटको पूर्वतर्फ थन्थापमाईको प्रसिद्द मन्दिर छ। यहाँ पनि पुरातात्विक महत्त्वका वस्तु भेटिएकोले संरक्षण प्रयास भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका हातहतियार र नापतौलका सामग्री यहाँ सङ्ग्रह गरेर राखिएको छ ।