गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २५ गते । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेट्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । नेपाल राष्ट्र बैङ्कका कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुधबार पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन बुझाउनुभएको हो ।
राष्ट्र बैङ्कले अध्ययनमा आधारित रहेर प्रतिवेदन तयार गरेको जनाएको छ । कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको सो क्रममा जानकारी गराउनुभयो । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो ।
आगामी बजेट निर्माणको तीव्र तयारीमा रहेको मन्त्रालयले मन्त्रालयगत छलफल सम्पन्न गरेर अहिले विभिन्न सरोकारवालासँग सुझावका लागि छलफल तथा अन्तर्क्रिया गरिरहेको छ ।
संवैधानिक व्यवस्था अनुरूप जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले मन्त्रालयले तालिका नै बनाएर बजेट निर्माणको प्रक्रिया अघि बढाइरहेको छ ।
आगामी आवका लागि राष्ट्रिय योजना आयोगले १८ खर्ब रुपियाँको बजेट सीमा निर्धारण गरेको छ । स्रोतको दबाबमा रहेको मन्त्रालयले यस पटक नयाँ आयोजनाभन्दा क्रमागत आयोजनालाई प्राथमिकता दिने र अनौपचारिक क्षेत्रलाई समेत करको दायरामा ल्याउने तयारी गरिरहेको छ ।