• ३० वैशाख २०८१, आइतबार

सेयर बजार : लाइनदेखि अनलाइनसम्म

blog

विश्वसँगै नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण र यसको न्यूनीकरणका लागि अवलम्बन गरिएको लकडाउनले अर्थतन्त्रदेखि दैनिक जनजीवनमा चौतर्फी असर ग¥यो । सबै क्षेत्र थलिए तर सेयर बजारमा यही कोरोनाको सकारात्मक असर देखियो ।

खासगरी महामारीको समय र त्यसपछि सेयर बजार बढ्नुको प्रमुख कारण प्रविधिमा बढेको पहुँच नै हो । प्रविधिको प्रयोगमा कमजोर लगानीकर्ताहरू पनि अभ्यस्त बने । अन्य क्षेत्र बन्द हुँदा पनि लगानी गर्ने एउटा क्षेत्र खुला नै रहेका कारण सेयर बजारमा आकर्षण ह्वात्तै बढ्यो । यसले अर्थतन्त्र चलायमान बनाइराख्न पनि राम्रो भूमिका खेल्यो ।

महामारीको चौतर्फी असरका बाबजुद सेयर बजारमा केही आशामूलक अवस्था देखियो भने नयाँ लगानीकर्ता बढे । सङ्क्रमण नियन्त्रणका लागि सरकारले लामो समयसम्म निषेधाज्ञा जारी गरिरहँदा आम नागरिकले भने घरभित्रै बसेर सेयरमा लगानी गर्न थाले ।

अनलाईन मार्फत भुक्तानी र कारोबार गर्ने अवसरले पनि सेयर बजारमा लगानीकर्ता मात्रै बढेनन् कोरानाकालमा व्यापार व्यवसायमा लगानी नगर्नेहरूको सङ्ख्या वृद्धि भएकोले पनि त्यो समय सेयर बजारमा कारोबार र भुक्तानीमा राम्रो प्रभाव प-यो ।

प्रविधिले फेरिंँदै परिभाषा

कुनै बेला अनावश्यक झन्झट, ढिलासुस्ती, तनाव र दिग्दारीको पर्यायवाची जस्तै बनेको पुँजी बजारको परिचय यतिबेला बदलिएको छ । सेयर बजार भन्नासाथ लामो लाइन, आवेदन दिन, नामसारी गर्न र खरिद/बिक्री गर्न हुने झन्झट बुझिने गरेकोमा पछिल्लो समय यसको सञ्चालनमा विकास हुँदै गएको आधुनिक प्रविधिले समग्र सेयर बजारको परिभाषा नै फेरिंँदै आएको छ ।

वर्षौं दिन लगाएर गर्नुपर्ने सेयर खरिद, बिक्री र नामसारी जस्ता काम अहिले मोबाइल र ल्यापटपमा क्लिक गरेकै भरमा दुई मिनेटमा सम्भव भएको छ । प्रारम्भमा स्टक एक्सचेञ्ज परिसर बाहिर भेला भएर भीडमा तँछाडमछाड गर्दै ओपन क्राई आउट (खुला बोलकबोल) प्रणालीबाट कारोबार सञ्चालन हुन्थ्यो । कागजी धितोपत्र प्रमाणपत्र तथा कागजातका आधारमा राफसाफ फस्र्यौट गर्दै आएको नेप्सेले अहिले कम्प्युटरबाट कारोबार र विद्युतीय राफसाफ फस्र्यौट गर्दै आएको छ । विगत स्मरण गर्दै स्टक ब्रोकर एसोसिएसनका महासचिव गुणनिधि भुसाल भन्नुहुन्छ, ‘साधारण सेयर खरिदका लागि घण्टौँ लाइन बस्नुपर्ने, सेयर नामसारी गर्न दुई वर्ष लाग्थ्यो, भएको प्रमाणपत्र पनि हराएर अहिलेसम्म कारोबार गर्न नपाएका थुप्रै उदाहरण छन् ।’ पछिल्लो समय यस्ता यावत् झन्झटबाट मुक्त भएका कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको उहाँको अनुभव छ ।

पहिले पहिले सेयर बजारमा आधारभूत कुरा पूरा भएपछि मात्रै लाग्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘तर अहिले त्यस्तो अवस्था रहेन । आधारभूत कुराके लागि पनि मान्छे सेयर बजारमा लाग्न थालेका छन् । विद्यार्थी, गृहिणीदेखि समाजका सबै पक्ष सेयर बजारमा समेटिएका छन् ।’

सानो झ्यालबाट सर्वसाधारणको पहुँचसम्म

लगानीकर्ताको लागि बजारको गहिराइ हेर्ने मुख्य माध्यम पनि शुरुवाती बेला स्टक एक्सचेञ्जमा रहेको सानो झ्याल थियो । सानो झ्यालबाट बजारको गहिराइ हेर्न तानातान र तँछाडमछाड नै हुने गर्दथ्यो । ब्रोकरले मात्र हेर्न पाउने अझै भन्नै पर्दा ब्रोकरले आफूसँगै ठूला लगानीकर्ता र आफन्तलाई मात्र कारोबार कक्षमा राखेर देखाउने बजारको गहिराइमा समेत अहिले आम सर्वसाधारणको पहुँच पुगिसकेको छ ।

अहिले बजारबाट भैतिक रूपमा रहेका सेयर प्रमाणपत्रको प्रचलन पनि करिब करिब अन्त्य भएको छ । बजारमा पूर्णरूपमा अभौतिक कारोबार हुने गरेको छ । आफूले किनेको सेयर अहिले तुरुन्तै आफ्नो खातामा स्वामित्व परिवर्तन भएर आइसक्छ ।  विगतमा खरिद गरेको सेयर छ महिनासम्म पनि प्रमाणपत्र हातमा नपर्ने हुँदा बुक क्लोज अगाडिसम्म लामो समय ब्रोकरको बाक्सामै बीटी अर्थात् ब्ल्याङ्क ट्रान्सफर (आफूले सेयर खरिद गरिसके तापनि सेयरको स्वामित्व नामसारी नभएसम्म बिक्रेताकै नाममा हुने अवस्था) मा राख्नुपर्ने बाध्यता थियो ।

प्राथमिक सेयर निष्काशनका लागि बिहानदेखि बेलुकासम्म घण्टौँ लाइन बसेका अनुभवी धेरै छन् । सेयर बाँडफाँटका लागि तीन महिना लाग्थ्योे । कुनै पनि कम्पनीको हकप्रद भर्न, बोनस लिन राजधानीमै आउनुपर्ने हुन्थ्यो । उपत्यका बाहिरका लगानिकर्ता हकप्रद भर्न र बोनस सेयर लिन राजधानी आउँदा आफूले पाएको प्रतिफलभन्दा बढी खर्चनुपर्ने अवस्था थियो । नेपाल स्टक एक्सचेञ्जको स्थापनाको १४ वर्षपछि २०६४ सालमा आएर खुला बोलकबोल पद्धति विस्थापित गरी कम्प्युटरमार्फत कारोबार गर्न थालिएको हो ।

गत वर्ष १५ अर्ब २३ करोड राजस्व

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार विश्व अभ्यासको परिदृश्यमा नेपाली अभ्यास अझै पछाडि रहेको धारणा राख्नुहुन्छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पुँजी बजारले गतवर्ष १५ अर्ब २३ करोड राजस्व बुझाएको जानकारी दिँदै उहाँले नियामक निकायले ठूलो मनोबल बनाएर यो क्षेत्रलाई विस्तार गर्नुपर्ने उहाँ औँल्याउनुहुन्छ ।

सेयर बजारमा देखिएको पछिल्लो अवस्थाले लगानीकर्ताले १४ खर्ब गुमाइसकेको उहाँको भनाइ छ । पुँजी बजारलाई प्राकृतिक रूपमा चल्न दिएर अर्थतन्त्रमा ठूलो योगदान पु-याएका उदाहरण छिमेकी मुलुक भारत, चीनलगायतका देशमा देख्न सकिने भन्दै मुलुकको कुल गार्हस्थ उत्पादनको हाराहारीमा  अर्थात् ४४ खर्बसम्म पुँजीकरण भएकोमा अहिले घटेर ३० खर्बको हाराहारीमा खुम्चिन पुगेको सेयरविज्ञ रौनियार बताउनुहुन्छ ।

अहिले ५२ लाख डिम्याट खाता प्रयोगकर्ता, ४२ लाख मेरो सेयर प्रयोगकर्ता, आइपीओका लागि आवेदन दिनेहरू २६ लाखसम्म पुगे, अनलाइन युजरनेम लिने लगानीकर्ता १६ लाख पुगेका छन् भने प्रत्यक्ष अप्रत्यक्ष रूपमा जसङ्ख्याको १७ प्रतिशत अहिले सेयर बजारमा रहेको अवस्थामा यो क्षेत्रका लागि विशेष प्राथमिकता रहनुपर्नेमा सरोकारवालाको जोड छ । सेयर बजारमा नीतिगत कुराले अत्यन्तै छिटो प्रभाव पार्ने भएकाले नीतिगत मार्गनिर्देशनमा नै यसको भविष्य रहेको रौनियारकोे भनाइ छ ।

कोरोनाकै समयमा झण्डै २२ अर्ब रुपियाँसम्म कारोबार भएको र नेप्से परिसूचक ३२ अङ्कसम्म पुगेर रेकर्ड ब्रेक गरेको थियो । तर समग्र पुँजीबजार केवल ५० जना ब्रोकरको हातमा रहेको भन्दै नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष रौनियारले यसको विकास र विस्तारका लागि काठमाडौं त्यसमा पनि रिङरोडभित्रका पुतलीसडक, अनामनगर, न्यूरोड, कमलादीलगायतका स्थानबाट देशव्यापी बनाउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।

समय विद्यमान कारोबार तथा कारोबारपछिको सेवालाई अझ परिस्कृत रूपमा प्रस्तुत गर्ने सिलसिलामा नेप्सेले भित्र्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको कार्यान्वयन नेपालको पुँजी बजारको इतिहासमै महत्त्वपूर्ण फड्को बनेको छ भने दोस्रो बजार कारोबार सेवामा पनि सुनिश्चितता गरेको छ । दोस्रो बजारमा तरलताको अभिवृद्धि हुनुका साथै दोस्रो बजारले धितोपत्रहरूमा तरलता अभिवृद्धिसँगै जोखिम न्यूनीकरण, वित्तीय सम्पत्तिहरूको मूल्य निधारण तथा कारोबार लागतमा न्यूनीकरणलाई पनि उत्तिकै प्राथमिकता दिने देखिएको छ ।

अर्थतन्त्रको महत्त्वपूर्ण पाटो

एक किसिमले बजारको विकास भइरहेकोमा कोरोना आएपछि अनलाइनमा जान नखोज्नेहरूलाई अनलाइनमा जान बाध्य मात्रै नबनाएर अभ्यस्त बनाइदिएको बताउनुहुन्छ धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी ।

कोरोनाले सङ्ख्यात्मक रूपमा हेर्दा बजारलाई समग्र रूपमा विस्तार गरिदिएको भन्दै उहाँले बजारको फैलावट बढेसँगै जोखिम पनि बढेको बताउनुहुन्छ । अर्थतन्त्रको महत्त्वपूर्ण पाटोका रूपमा देखिएको  धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिएर बोर्डले प्राथमिकता तथा लक्ष्य निर्धारण गरेको गिरी बताउनुहुन्छ । धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी अन्तराष्ट्रियको मापदण्ड अनुरूपको बनाउँदै लैजाने तथा लगानीकर्ताहरूको हक हित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुनविपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।

पर्याप्त पुँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यावसयिक ज्ञान परिचालन गर्ने कार्य बोर्डको प्राथमिकता छ । यस्तै साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक व्यवस्था मिलाउने र व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आबद्ध गर्ने बोर्डको लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउनुका साथै बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने कुरामा बोर्ड अग्रसर रहेको गिरीको भनाइ छ ।

के के  भयो सुधार

पुँजीबजारमा हालसम्मको सुधार र आधुनिकीकरण गर्दै ल्याएको मुख्य नियमनकर्ता नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको समस्या हल गर्दै उनीहरूको हित संरक्षण गर्ने, नियमन र सुपरीवेक्षणलाई सुदृृढ गरी बजार विकास गर्ने जस्ता सुधारका योजनाहरू आक्रामक रूपमा कार्यान्वयन गर्दै लगेको गिरीको दाबी छ । स्टक मार्केटको संरचनात्मक सुधार र आधुनिकीकरण गर्ने क्रममा बोर्डले दिएको निर्देशनअनुरूप २०७२ माघदेखि पूर्णरूपमा अभौतिक धितोपत्र (पेपरलेस) को मात्र कारोबार प्रारम्भ भई धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित (अटोमेटेड) अवस्थामा पुगेको छ । स्टक मार्केट आधुनिकीकरणका तीन पक्षहरू– कारोबार, राफसाफ (क्लियरिङ) र फछ्र्योट र नामसारी (सेटलमेन्ट र ओनरसिप ट्रान्सफर) का प्रक्रियाहरू अहिले स्वचालित भइसकेका छन् । यसबाट नेपाल पनि दक्षिण एसियाका अन्य देशसरह पुगी पुँजीबजारले एक उपलब्धि हासिल गरेको छ ।

धितोपत्रको दोस्रो बजार कारोबारलाई प्रतिस्पर्धी एवं पारदर्शी बनाउनका लागि लगानीकर्ताले बजारको गहिराइ (मार्केट डेप्थ) अर्थात् सेयर किन्ने–बेच्नेको माग–आपूर्ति स्थिति हेर्न पाउने व्यवस्था गरिएको छ । हालै सञ्चालनमा ल्याइएको ओटीसी बजारको कारोबार शुल्क ९० प्रतिशतसम्म घटाएर प्रोत्साहन गरिएको छ । त्यस्तै हकप्रद, बोनस सेयर र नगद तथा आइपिओमा नपरेको पैसा लगानीकर्ताको डिम्याट खाता र बैङ्क खातामा जम्मा गरिदिने व्यवस्थाले आम साना लगानीकर्ता लाभान्वित भइरहेका छन् । मर्चेन्ट बैंकिङ तथा ब्रोकर सेवालाई स्तरीय र प्रतिस्पर्धी बनाउने प्रयास गरिएको तथा प्राथमिक बजारमा सुधार (आईपीओमा डिम्याट अनिवार्य गरिएको), पुँजीबजारमा समावेशी गर्ने, बोर्डले सुधारका लागि नेप्से र सीडीएससीलाई विभिन्न निर्देशन इत्यादि धेरै सुधारका कार्य भइरहेका छन् ।

अनलाइन ट्रेडिङ कार्यान्वयनपछि

नेप्सेको अनलाइन ट्रेडिङमार्फत नयाँ कारोबार प्रणाली स्थापना भएपछि लगानीकर्ताले हरेक दिन सेयर दलालको कार्यालय धाएर सेयर खरिदबिक्री गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । इन्टरनेट पहुँच भएको ठाउँमा लगानीकर्ताले मोबाइल र ल्यापटपको सहायताले सेयर खरिद र बिक्री गर्न सक्ने भएका छन् । हुम्ला जुम्लाको विकट गाउँ वा सगरमाथाको फेदीदेखि विदेशमा रहेका सबै नेपाली  इन्टरनेट उपलब्ध भएका ठाउँबाटै सेयर कारोबारमा प्रत्यक्ष संलग्न हुन सक्छन् ।  रियल टाइममा बजारमा कारोबार गर्न सक्छन् । विश्वमा प्रचलित आधुनिक सेयर कारोबार प्रणालीका सुविधाहरू नेपाली सेयर लगानीकर्तालाई उपलब्ध गराउन अनलाइन कारोबार प्रणाली स्थापना गरिएको बोर्डको भनाइ छ ।

आस्वा र सी–आस्वा कार्यान्वयनपछिको छलाङ

बोर्डले सार्वजनिक निष्काशनमा आस्वा प्रणाली (धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताको बैङ्क खातामा खरिद गर्न चाहेको रकम रोक्का गर्ने प्रणाली) लागु गरेसँगै सहज बनेको पुँजी बजार सी–आस्वा कार्यान्वयनपछि छलाङ नै मारेको छ । ‘एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट’ लाई नै छोटकरी रूपमा एएसबीए अर्थात् आस्वा भनिएको हो । जति रकमको सेयर आवेदन दिइएको छ, त्यति रकम आवेदकको खातामै ‘ब्लक’ गर्ने र बाँडफाँटपछि जति रकमको सेयर पर्छ, त्यति रकम मात्रै कटौती भई बाँकी खातामै फुकुवा हुने प्रणाली नै आस्वा हो ।

धितोपत्र (सेयर) को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँट नहुन्जेलसम्म आवेदककै बैङ्क खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त सङ्कलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैङ्क वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैङ्क वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउनेछन् । बैङ्क वा वित्तीय संस्थाले दरखास्त सङ्कलन गर्न विद्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्ने गरेका छन् ।

साधारण सेयर (आईपीओ), थप निष्काशन (एफपीओ) र हकप्रद सेयर भर्न लाइन लाग्नुपर्ने मात्रै होइन बैङ्कमा जानुपर्ने अवस्था पनि केन्द्रीकृत प्रणाली (सी–आस्वा) को कार्यान्वयनसँगै अन्त्य भएको छ । सीडीएस एण्ड क्लियरिङ हाउस लिमिटेडले सी–आस्वालाई कार्यान्वयनमा ल्याएसँगै अब सेयर आवेदनका लागि लाइन बस्नुपर्ने र बैङ्कमा धाउनुपर्ने बाध्यता सकिएको छ । पूर्ण कार्यान्वयनमा आएको सी–आस्वा प्रणालीले अनलाइनका माध्यमबाट देशका जुनसुकै कुनाबाट पनि आईपीओ, एफपीओ र हकप्रद सेयर भर्न पाइरहेका छन् ।   

Author

भेषराज बेल्बासे