गुणबहादुर रोका
सुलीकोट, वैशाख २३ गते । गण्डकी प्रदेशको औद्योगिक क्षेत्रको रूपमा प्रख्यात गोरखाको पालुङटार नगरपालिकाको कार्यालयदेखि बिरुवाटार जोड्ने सडक कालोपत्रे सुरु भएको छ । पालुङटार नगरपालिका–५ राधाकृष्ण मन्दिरदेखि बिरुवाटारसम्म १० किलो मिटर सडक कालो पत्रे सुरु भएको हो ।
पालुङटार नगरपालिकाको विशेष पहलमा भौतिक पूर्वाधार कार्यालय गोरखाको बजेट मार्फत कालोपत्रे गरिएको हो । सडक कालोपत्र योजनाका लागि अमर कन्ट्रक्सन प्राइभेट लिमिटेड कम्पनीसँग २०७६ साल असार १६ गते सम्झौता भएर काम अघि बढेको पूर्वाधार कार्यालय गोरखाका निर्मित प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०७९ साल चैत ३० गते सम्पन्न गरिसक्नु पर्ने भएता पनि निर्माण कम्पनीले विविध कारण देखाई काममा ढिला सुस्ती गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई ताकेतापछि २०८२ असार मसान्तसम्म कालोपत्रे समपन्न हुने गरी काम अघि बढाइएको इन्जिनियर कपिल काप्रीले बताउनुभयो ।
राधाकृष्ण मन्दिरबाट बिरुवाटार जाने बाटो गौरवको आयोजना भएकाले पालुङटार नगरपालिकाले बजेट व्यवस्थाको लागि जनप्रतिनिधिको टिम नै मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर आवश्यक बजेट माग गरिए अनुसार बजेट व्यवस्थापन भएको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताउनुभयो ।
पालुङटार नगरपालिकाले बजेट व्यवस्थापनको लागि केन्द्रीय सरकारसँग पनि आवश्यक बजेटका लागि निरन्तर पहल र समन्वय गरिरहेको उहाँले बताउनुभयो । पालुङटार नगरपालिकाको बिरुवाटार गोरखा, लम्जुङ र तनुहँको सङ्गम स्थल भएकाले सडक कालो पत्रेसँगै सो क्षेत्रका बासिन्दालाई कालोपत्रे बाटोबाट तनुहँका विभिन्न ठाउँमा त्यहाँ उत्पादन भएका तरकारी, फलफूल, बाख्रा बोका भैँसी लगायतलाई सहजै बेचबिखन गर्न सकिने भएकाले निकै फाइदा हुने विश्वास रहेको ७ का वडाध्यक्ष अर्जुन कुमालले बताउनुभयो ।
७.५ मिटर बाटो चौडाइ १० किलो मिटर लम्बाई बेस गिटी फाइनल भएको सब ग्रेड, बेस सबग्रेड सबै फाइनल भएको पुर्वाधार कार्यालय गोरखाले जनाएको छ ।