हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख २२ गते । कानुनी अज्ञानताका कारण अपराधजन्य घटना बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङ सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ । पाँच वटै स्थानीय तहको बस्ती तथा विद्यालयमा पुगेर नागरिक लक्षित सचेतनामुलक अभियान सञ्चालन गरेको हो ।
“समुदाय–प्रहरी साझेदारी’’ कार्यक्रममार्फत लेक लाग्ने समस्या, बाल विवाह, आत्महत्या,साइबर अपराध, लागु औषध, घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, गाउँघरमा भेटिने अपरिचित व्यक्ति तथा अपराधिक गतिविधिमा संलग्नहरूका बारेमा प्रहरीलाई सूचना दिने तरिकाका बारेमा प्रहरीले नागरिकलाई जानकारी गराउने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।
अभियानमा समुदायस्तरमा हुनसक्ने जबरजस्ती करणीको अवस्था, जबरजस्ती करणी प्रमाणित गर्ने आधार र कानुनी उपचार सहित अन्य समुदाय अनुकुल हुने सचेतनामुलक जानकारी गराउने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका अधिकारीले बताउनुभयो। प्रहरी निरीक्षक अधिकारी भन्नुहुन्छ, ‘‘गाउँगाउँमा अपराध न्युनीकरणका लागि समुदायमा सञ्चालित अभियान प्रभावकारी देखिएको छ, हामीले जहाँ भेट्यो त्यही सचेतना फैलाउने गरी टोली परिचालन गरेका छौं ।’’ जिल्ला प्रहरी कार्यालय जोमसोम, इलाका प्रहरी कार्यालय सहित प्रहरी चौकीबाट समेत खटिने प्रहरीलाई समुदायस्तरमा पुगेर सन्देश फैलाउने अभियानका बारेमा विशेष प्रशिक्षण दिने गरिएको छ ।
सूचना र सञ्चारको पहुँच बाहिर रहेका बस्तीहरूमा प्रहरीले पुगेर दिने गरेको सन्देशमुलक गतिविधिले अपराधजन्य गतिविधि न्युनीकरणका साथै समाजमा सुरक्षा प्रत्याभुतीको महसुस भएको लोमन्थाङ गाउँपालिका–२,छोसेरमा रहेको दिव्यदिप माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाटीले बताउनुभयो । विभिन्न घटनामा कानुनी उपचार र दोषीप्रति कानुनी व्यवस्था सम्बन्धी ज्ञानका विषयमा प्रहरीको अभियानले स्थानीयवासीलाई सहज भएकाले विद्यालयमा समेत प्रहरीको सहभागितामा विभिन्न कार्यक्रम गर्ने गरिएको प्रअ त्रिपाटीको भनाइ छ ।
प्रहरीले सडक सञ्जाल जोडिएका क्षेत्रमा ट्राफिक जनचेतनामुलक अभियान सञ्चालन गर्ने गरेको छ भने अति विकट बस्तीमा सामाजिक रूपमा हुने अपराधलाई केन्द्रित गरी प्रहरी यूनिटलाई परिचालन गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा जिल्ला प्रहरी कार्यालय, पर्यटक प्रहरी, ट्राफिक प्रहरी कार्यालय, ५ इलाका प्रहरी कार्यालय सहित १९ युनिट रहेको छ ।