• २२ वैशाख २०८२, सोमबार

घट्यो सर्केगार्डदेखि नेपालगन्जसम्मको भाडा

blog

सर्केगार्डबाट सुर्खेतका लागि छुट्ने तयारीमा रहेको बस । तस्बिरः राजन रावत

राजन रावत
हुम्ला, वैशाख २२ गते ।
हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकादेखि सुर्खेत हुँदै नेपालगन्जसम्मको भाडा घटेको छ  । सर्केगार्डबाट सार्वजनिक बस सञ्चालनमा आएपछि भाडादर घटेको हो ।

खार्पुनाथ मानसरोवर संयुक्त यातायात प्रालिका सञ्चालक सुरेन्द्र सिंहले सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डबाट सुर्खेत र नेपालगन्जसम्म सार्वजनिक बस सेवा सञ्चालन आएपछि भाडादर सस्तिएको बताउनुभयो । यसअघि बोलेरो जिपमा सर्केगार्डबाट सुर्खेतसम्म यात्रा गर्नुपर्दा एक जना यात्रुको साढे सात हजार रुपियाँ तिर्नुपर्यो । 

उहाँले सार्वजनिक बस सेवा सञ्चालनमा आएपछि सर्केगार्डबाट सुर्खेतसम्म प्रति यात्रु तीन हजार पाँच सय रुपियाँ भाडा लाग्ने गरेको बताउनुभयो । यसैगरी, नेपालगन्जसम्म चार हजार रुपियाँ भाडा लाग्ने छ । सर्केगार्डबाट सुर्खेत हुँदै नेपालगन्जसम्म प्रत्येक दिन बिहान ९ बजे र दिउसो २ बजे गरी दुई वटा मिनी बस छुट्ने गरेका छन् ।

यसैगरी समितिले सर्केगार्डबाट हुम्ला जिल्लाकै कवाडीसम्म पर्ने विभिन्न स्थानहरूका लागि पनि भाडा निर्धारण गरेको छ । सर्केगार्डबाट सलीसल्ला एक सय ५० रुपियाँ भाडा निर्धारण गरिएको छ भने बाग्रेचौर दुई सय, नेरघाट २५० रुपियाँ, खच्चा तीन सय, तुम्च चार सय, मकै पाँच सय, गल्फागाड ६५०, दोमुख आठ सय, पैमा ९५०, कवाडी एक हजार रुपियाँ भाडा निर्धारण गरिएको छ ।

त्यस्तै, सर्केगार्डबाट बाजुरा र कालीकोट जिल्लाका विभिन्न स्थानहरूको पनि भाडा निर्धारण गरिएको छ । जसमा धुलाचौर एक हजार तीन सय, पिलुचौर एक हजार पाँच सय, बेरमा एक हजाार ६५०, काब्डी एक हजाार सात सय, घाटाचौर एक हजार आठ सय, सान्नीघाट एक हजार नौ सय र जीते दुई हजार पाँच सय भाडा निर्धारण गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायीसहितको सर्वपक्षीय बैठकले प्रति किलोमिटर ३८ रुपियाँ भाडा उपयुक्त हुने सहमति भएको थियो ।