काठमाडौँ, वैशाख २२ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ बस्ने दोलखा जिरी नगरपालिका–३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौँ महानगरपालिका–१५ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भएका ३६ वर्षीय नरेन्द्रबहादुर तामाङ र काठमाडौँ महानगरपालिका–२६ बस्ने स्याङ्जा वालिङ नगरपालिका–७ घर भएका ५६ वर्षीय नरबहादुर खड्का थोकी रहेका छन् ।
पक्राउमध्ये जितेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट पाँच लाख, नरेन्द्रले युएई पठादिन्छु भन्दै दुई जना पीडितबाट तीन लाख र नरबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट चार लाख ६५ हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।
पैसा लिई सम्कर्पविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जितेन्द्रलाई काठमाडौँ महानगरपालिका–९ बाट शुक्रबार, नरेन्द्रलाई काठमाडौँ महानगरपालिका–२२ बाट शुक्रबार र नरबहादुरलाई काठमाडौँ महानगरपालिका–१२ बाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।