काठमाडौँ, वैशाख २२ गते । किराना सामानभित्र लुकाई छिपाई लैजाँदै गरेको १८ पोका लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको भैरहवाबाट म्याग्दितर्फ जाँदै गरेको लु. २ ख. ५४५३ नम्बरको ट्रक पाल्पा जिल्लाको तानसेन नगरपालिका–१ राईडाँडास्थित सिद्धार्थ राजमार्गबाट आइतबार राति १ः३० बजे नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रक नियन्त्रणमा लिने क्रममा चालक फरार भएका छन् भने ट्रकका सहचालक रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने २० वर्षीय मिखिल पुनलाई नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पाबाट खटिएको सुरक्षा फौजले बिलबिजक नभएको अवैध कपडासहितको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा किराना तथा खाद्यान्नका सामान भित्र १८ पोका लत्ताकपडा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको छ । ट्रकमा रहेको किराना तथा खाद्यान्न सामानको बिलबिजक भेटिएको छ भने लत्ताकपडाकोे बिलबिजक नभएको पाइएको छ ।
रूपन्देहको सिद्धार्थनगर–४ गल्लामण्डी भैरहवाको प्रतिक किराना स्टोरबाट सम्झाना ट्रेडर्स म्याग्दी बेनी को नाममा बनाइएको बिलबिजकसहितको किराना सामानमा लुकाएर कपडा लैजान लगिएको थियो ।
नियन्त्रणमा लिएको ट्रक र सहचालक सहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रूपन्देहीमा बुझाइएको छ ।