साहारा लिम्बू
फुङ्लिङ, वैशाख २१ गते । निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको भवन शिलान्यास गरिएको छ । फुङलिङ नगरपालिका ४ स्थित तमू फर्निचर अगाडि रहेको झण्डै साढे ७ आना जग्गामा भवन निर्माण हुनेगरी शिलान्यास गरिएको हो ।
भवनको शिलान्यास सोमबार नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहले गर्नुभएको छ । व्यवसायिक रूपमै सञ्चालनमा आउनेगरी भवन निर्माण गर्ने लक्ष्य रहेको निर्माण व्यवसायी सङ्घ ताप्लेजुङका उपाध्यक्ष इन्द्र केदेमले जानकारी दिनुभयो ।
शिलान्यास समारोहमा महासङ्घका केन्द्रीय अध्यक्ष सिंह, वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), महासचिव रोशन दाहाल, कोशी प्रदेश समिति अध्यक्ष जनक सुवेदी, कोषाध्यक्ष सन्तोष बस्नेत, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्मा सहित निर्माण व्यवसायी सङ्घ ताप्लेजुङका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
निर्माण व्यवसायी सङ्घ ताप्लेजुङले अहिलेसम्म भाडाकै कक्षबाट कार्यालय सञ्चालन गरिरहेको छ ।