त्यो जुनकिरी किन धर्तीमै अलमलिरहन्छ ? किन चहार्दैन आकाशभरि ? जुनकिरीले झैँ लुसिफेरेन्स् बोकेर के म हिँड्न सक्छु ? जुनकिरीले झैँ के म धर्ती उज्यालो बनाउन
सक्छु ? के मेरा लागि जुनकिरीलाई झैँ अनन्त सम्भावनाका ढोका खुला छन् ?
उसो त रातको रौनक जुनकिरीले मात्र होइन, साँचो जुनले पनि दिन्छ । यो जुन किन म जता गयो उतै जान्छ ? हाम्री फुपू किन कथाको उपकथा सुनाउँदै जुनको सुस्केरा सुसेल्छिन् ? जुनको उज्यालो किन शीतल छ, घामले झैँ किन पोल्दैन ? जुनेली रातमा छायाले किन तर्साउँछ । उही छाया घामको अघि किन लल्याकलुलुक पर्छ ?
लाखौँ तारा आकाशमा एउटा तारा जुन सित
किन भनेको होला ? जब अँधेरी रातमा आकाश हेर्छु । टिलपिल टिलपिल गर्ने लाखौँ तारा देख्छु । साँच्चै यी सारा जुन, घाम, तारा धर्तीलाई नै घुम्दो रहेछ झैँ मानेँ । ग्यालिलियो ग्यालिलीको भनाइ उद्धृत गर्दै विज्ञानका गुरुले भने– पृथ्वीलाई सूर्यले होइन, सूर्यलाई पृथ्वीले घुमेको छ ।
‘नौ लाख तारा आकाशमा...’ कसले गनेर भनेको होला । मलाई भने लागिरह्यो के सूर्य स्थिर छ ? आकाशमा सूर्य एउटा छ, जुन एउटा छ, अनि यी तारा कति होलान् ? ध्रुव ताराले हामीलाई उत्तर दिशा देखाउँछ भने के त्यो स्थिर छ त ? हामीले भन्ने उत्तर दिशा अर्थात् उत्तरी ध्रुव स्थिर छ त ? के पृथ्वीको चुम्बकीय ध्रुवहरू चलायमान छैन ?
देवकोटाले किन भनेका होलान्– ‘उडी छुनु चन्द्र एक’ । हाम्रो ब्रह्माण्डको दायरा के चन्द्रमासम्म मात्र हो ? निल आर्मस्ट्रङले टेकेको चन्द्रमालाई अब हामीले पूजा गर्ने कि
नगर्ने ? पौराणिक परिभाषा अनुसार त राहु र केतुले घेरेपछि चन्द्रमा पनि दोषी हुन्छ । त्यसैले चन्द्रग्रहण या सूर्यग्रहण लागेको समयमा पृथ्वीवासी मानिस बार्ने गर्छन्– ननुहाउने, खाना नखाने, सम्भोग नगर्ने आदि । त्यो कति अन्धविश्वासी, कति यथार्थ ? धर्म, संकृति, प्रचलनमा आएको कुरा विज्ञानले साबित गर्न सक्छ ? कि आफ्नै आफ्नै मापदण्ड हुन्छन् ।
चन्द्रग्रहण र सूर्यग्रहणको समयमा त्यसबाट निस्कने किरणले असर गर्ने खास गरी सूर्यग्रहणको दौरान कालो सूर्य भनेर हेर्दा आँखामा असर गर्ने विज्ञानसम्मत र यथार्थ होला तर सुतक लाग्ने, सुतक बार्ने, राहु केतुको दोष हटाउने कुरा कति मनासिब होला ?
हरेक दिन देखिने आकाशगङ्गा, ताराहरू, नक्षत्र, राशिको दोष तथा फल जन्मका आधारमा फरक फरक कसरी भएको होला ? अर्बौं मानिस छन् पृथ्वीमा, १२ राशि अनुसारका राशिफल कसरी मिल्छ होला ? जन्मेको दिनमा भावीले निधारमा लेखेको भविष्यको कर्म कसरी स्थापित हुन्छ होला ? हातका रेखाले, औँलाका शङ्ख, चव्रmले कुन कुराको सङ्केत दिन्छ ? त्यसले के मेरो भविष्यको बाटो देखाउँछ ? भावीले लेखेको हातका रेखाले विश्वविजयको सङ्केत दिन्थ्यो भने किन नेपोलियन बोनापार्टले आफ्नो हातमा आफैँले रेखा कोरेका होलान् ?
अँ ! साँच्चै के भविष्यवाणी गर्न सकिन्छ ? हिन्दु मिथकमा भनिए झैँ के मानिसको अग्लोपना घट्दै गएको
छ ? भन्टाको बुटामा झटारो हान्नुपर्ने मानिसको उचाइ घटेर हो कि बुटाको उचाइ बढेर होला ? नास्त्रेदामसको भविष्यवाणी पूरा हुँदै गएको छ भनिन्छ । सन् २०११ मा पृथ्वी ध्वस्त हुँदै छ भनिएको थियो– अझै कसरी पृथ्वीले आफ्नो कक्ष र अक्षमा भ्रमण तय गरिरहेको छ ? व्रिmस्टियन धर्मावलम्बीले विश्वास गरेको त्यो ‘डुम्स डे’ कहिले आउँछ ? के पक्कै आउँछ ? हिन्दु धर्मशास्त्रले भनेको प्रलय, महाप्रलयको तिथिमिति कुन हो ? सत्य, त्रेता, द्वापर र कलिको समय कति सय, कति हजार वर्ष हो ? इस्लामिक धर्मावलम्बी किन भविष्य हेर्दैनन् ? र भविष्यवाणी गर्नु पाप हो भन्दछन् ?
हरेक दिन उसै गरी बित्दथ्यो, घरदेखि स्कुल र स्कुलदेखि घर । घर छाडेर पाहुना चरा झैँ फुक्काफाल बन्दै संसार बदल्ने आकाङ्क्षा बोकेर हिँड्नुको दार्शनिक पक्ष उत्तिकै मार्मिक छ । के यात्रामै बित्ने हो त समय ? कि कुनै गन्तव्य भेटिन्छ र थिग्रिन्छ, जलाशयको बालुवा झैँ । के जीवन भन्नु (कुद्नु, कुदिरहनु नभेटिने गन्तव्यको महŒवाकाङ्क्षी आशामा झुन्डिरहनु हो ? हिमालको थाप्लोदेखि समेटिएर बग्ने, ठोकिने, थिग्रिने, सङ्लिने अनि उछालकुद गर्ने नदीहरू के समुद्रको सान्निध्यमा आफूलाई समाहित गर्छन् र बिर्सन्छन् आफू हुनुको, गडगडाउनुको आफ्नोपन । किन दौडिन्छन् नदी आखिर समुद्रमा थिग्रिनु नै छ । होइन किन उड्छन् यी चराहरू जादा जाँदै कि सिकारी तम्तयार बसेका छन्, झम्टनका लागि । दार्शनिक बन्न मन लाग्छ । सुकरातले पिएको हेम्लक विष या महादेवले पिएको कालकुट विषको पछाडिको दर्शन के होला ? समुद्र मन्थन गर्दा निस्केको कालकुट विष, अमृत र मदिराको बाँडफाँट कसरी भयो होला ? त्यहाँ कुन राजनीतिक दाउपेच चल्यो होला ?
‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ मा माक्र्सले धर्मलाई अफिम र आफूहरूलाई तर्साउने भुतको संज्ञा किन दिए होलान् ? चे ग्वेभाराले आफ्नो देशमा व्रmान्तिकारीहरूको विजय भइसकेपछि फेरि किन अन्य राष्ट्रमा आन्दोलन गर्न ‘लङ ड्राइभ’ मा गए होलान् ? माक्र्सले आफ्नो पिएचडीको दौरान प्रतिपादित मुनाफारहित लगानीको सिद्धान्तको हवाला दिँदै किन बुर्जुवा शिक्षाको विरोध गरेका होलान् ?
मिखाइल गोर्भाचोभले पेरेस्त्रोइका र ग्लासनोस्तका नाममा किन सोभियत सङ्घ टुक्रा टुक्रा पार्ने प्रपन्च गरे होलान् ? विश्व राजनीतिमा कति खिचातानी भयो होला ? भगवान् भन्ने हुन्न संसारमा तसर्थ मूर्ति पूजाका विरोधी थिए सिद्धार्थ गौतम बुद्ध तर अहिले किन विश्वमा उनको पूजा हुन्छ र उनकै मूर्ति धेरै किन बनेको होला ? अर्को कुरा साम्यवादी दर्शनले भन्ने गरेको साम्यवाद, हिन्दु धर्मले भन्ने गरेको स्वर्ग, युटोपिया कतै भेटिन्छ कि काल्पनिक मात्र होला ?
रसियामा भेटिएका बालक मङ्गल ग्रहबाट आएको दाबी गर्छन् र उनले मङ्गल ग्रहमा जीवन छ र उनीहरू अक्सिजनको सास होइन, कार्बनको सास फेर्छन् भन्छन्, के यो सत्य
होला ? वैतरिणी तरेर पुग्ने स्वर्ग कहाँ छ ? एउटा किशोर यात्रीले समात्नुपर्ने पथ कुन हो ? सांसारिकता नै यथार्थ हो । दुःखका कारण छन् र ती कारण हाम्रै प्रयासले निवारण गर्न सकिन्छ भन्ने बुद्धमार्ग कि संसार दुःखमय छ, सांसारिक सुख भोगका लालसाले मानिस सांसारिक र पारिवारिक मायाजालमा परेर दुःख झेलिरहेका छन् भन्ने वैराग्यको मार्ग । कि कमाउ खाउ, मोज गर, दुई दिनको जिन्दगीको पूर्ण रसास्वादन गर भन्ने उपभोगवादी दृष्टिकोण । कि सुझबुझसहितको सकारात्मक पहलले कुनै स्वर्गको काल्पनिक संसार होइन, यही सांसारिक यथार्थलाई फलदायी बनाउन सकिन्छ र भविष्यका पिँढीलाई पनि मार्गनिर्देश गर्न सकिन्छ भन्ने सोचको झल्झलाकार पदमार्ग ?
नैतिकवान बन्नु पर्छ भन्ने नैतिक शिक्षाका अनुयायी, नैतिक शिक्षा पढेर हुर्केका पिँढी अनि पथप्रदर्शक नै किन पथभ्रस्ट छन् ? किन मन्दिरका मूर्ति उखेलेर बेच्दछन् ? जो बाटो देखाउँछन्, उही किन भ्रस्ट छ ?
रामायण, महाभारत, बाइबल, कुरान, त्रिपिटक, मुन्धुम जस्ता लिखित अल्लिखित सामग्रीको प्रामाणिकता के हो ? एक व्यक्ति, एक देवता, एक विचारक, एक दार्शनिक, एक नेताको वरिपरि किन घुम्दछ संसार ? त्यो सूर्य, आकाशगङ्गा, ब्रह्माण्ड एउटा मात्रै छ कि अनेक संसार, अनेक विश्व, अनेक ब्रह्माण्ड अस्तित्वमा छन् ? के पृथ्वीमा मात्र विद्यमान छ, मानवजीवन कि अन्यत्र पनि छ जीवनको गुन्जायस ? पृथ्वी जस्तै उपयुक्त तापव्रmम, पानी, वायुमण्डल भएको आवासयोग्य ग्रह अन्यत्र पनि छन् कि छैनन् ?
अनन्त विश्वमा जीवनको खोजीमा निस्केको भोयाजर–१ र भोयाजर–२ कहिलेसम्म अघि बढ्छ । के उसले एलियनको खोजी गर्न सक्छ ?
व्रmमशः किशोरवय अघि बढ्दै जाँदा बोक्सी, मसान, भुतप्रेत र बिर बेतालको अर्थ के होला ? भगवान्, देवता, तेत्तिसकोटी हुनुको अर्थ के होला ? भन्ने जिज्ञासा उत्पन्न भयो ।
वैज्ञानिक प्रतिपादन र सिद्धान्तले हामीलाई कहाँ पुर्याउँछ ? धर्म, राजनीति र विज्ञानको अन्तरसम्बन्ध के होला ? पदार्थहरूको भौतिक उपस्थिति र जीवनको उपस्थिति के ऊर्जाको निरन्तर परिवर्तन मात्र हो ? हिन्दु धर्मले भन्ने गरेको ८४ लाख जुनी के जीव विकासको निरन्तर सिद्धान्तसँग मेल खान्छ ?
प्रश्नहरू बाँकी नै छन् । किशोरवय फेरिँदै गयो तर प्रश्नका जवाफ भेटिने सम्भावना न्यून छ । किशोरहरूको मनमा आफ्नो अस्तिŒवको, आफू हुनुको औचित्य के भन्ने लाग्दछ ? घरपरिवारको निर्भरता कम गर्दै आफूलाई स्वतन्त्रता कहिले प्राप्त हुन्छ ? प्रेमको परिभाषाको खोजी, यौन र आशक्तिको भेद के होला ? यसरी मनमा आउने संवेग, आवेग र उद्वेगको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने प्रश्न टड्कारो बन्दछ ।
यी किशोर प्रश्नहरू के जीवनको उत्तरार्धमा पनि कायम रहन्छ ? जीवनको डुब्न लागेको घाम कुरेर बसेका किन चुपचाप छन् ? न प्रश्न गर्छन् न यी र यस्ता प्रश्नको जवाफ दिन्छन् ? के मौनता समाधान हो ?