• २० वैशाख २०८२, शनिबार

झारमारे भएर ओरालो झरेपछि

blog

शरीरसँग टाउकोलाई ९० डिग्रीमा तेर्सो पारेर हेर्दा लाग्छ, झारमारेको उकालो यात्रा आकाशमै गएर टुङ्गिन्छ । डाँडामा पुगेपछि सिस्ने हिमाल खराने रङको देखियो । सिस्ने हिमाललाई पिठिउँ फर्काएर ओरालो हेर्दा रातो भिर देखियो, जहाँबाट भेरी नदी हुँदै हामी उकालो लागेका थियौँ । यो गुराँसहरूको तन्ना रहेछ । कैलालीका हँसिला चौधरी युवा हाम्रा सारथि थिए । रुकुमपश्चिमको मुसीकोटबाट सुरु भएको राप्ती राजमार्गको यो पर्यटनयात्रा । अघि अघि नेताको गाडी रहेछ । घरी घरी नेताहरू आफैँ गाडीबाट ओर्लन्थे र ढुङ्गा पाखा लगाउँथे । अगाडि हिँड्नेले बनाइदिएको बाटोको पछि हिँड्नेलाई सहज हुने रहेछ । यसरी नै अघि हिँडिदिने मानिसको अभावका कारण होला कर्णाली पछि परेको । 

पहाडी भित्ताका रेखा जस्तो बाटाहरू कति लोभ गरी बनाइएको ? गाडीका चक्का अट्ने मात्र । सारथिले पश्चाताप पोखे, “यस्तो जानेको भए किन आउँथे ?” स्थानीय कृष्णबहादुर ऐरले उत्तर फर्काए, “यो राजमार्गको नाम नै स्वर्ग जाने बाटो हो, कहाँ त्यति सहज छ र ?” यतिबेर रुकुमपूर्वमा अवस्थित सिस्ने हिमालको चिसो हावा एक्कासि कानभित्र पसे जस्तो लाग्यो । 

पानीको पिठो पग्लिसकेको सिस्ने हिमाल स्वर्ग जस्तो सुन्दर देखिँदैन, महादेवको निलो खराने छाती जस्तो प्रतीत हुन्छ । थोरै तलमाथि भएमा त स्वर्गयात्रा निश्चित देखिन्छ । हो, यही कारण सिस्ने हिमालको चिसोले कानमा ठोसेको हो । कर्णालीका पीडा मिश्रित ठाडो भाका बज्दै छ । ठाडो बाटो र डाडो भाकाबिचमा भावनात्मक तादात्म्य हुनु पर्छ । केही दिनअघि मुसीकोटमा गाइएको ठाडो भाकाले काठमाडौँ सहरबाट आएका व्यङ्ग्यकवि लक्ष्मण गाम्नाङेलाई पनि भावुक बनाएको थियो । 

म वैरागी रातदिन, घाँसदाउरा जाम्

जीवन देख्छु यै माटोमा, पेटभरि माम्

डोको बोके ढिकी जाँतो, यैजुनीको काम

डाँफेलाई गुराँस फुल्यो, माली गाईलाई घाम

‘आठबिसकोट नगरपालिकामा तपाईंलाई स्वागत छ’ अब ओरालो लागेको बाटो गौतमकोट र चित्रेपाटनसम्म पुग्छ । यसलाई बढाउने हो भने सहजै जुम्ला, मुगु र डोल्पा पुग्न सहज हुने देखिन्छ । पारिपट्टि देखिएको सिस्ने हिमाल आरोहण गर्न पनि यही बाटो नजिक होला कि ? झारमारेबाट बाटोको रेखा ओरालो लाग्यो । तीन जना अट्ने गाडीको सिटमा चार जना बसिएको छ । सारथिले घरी घरी हँसिलो चेहरामा व्यङ्ग्य गर्छन्, “गाडीले थाम्ने जति मान्छे भए पो ?” “भाइ त तराईको मान्छे पहाडमा गाडी चलाउन गाह्रो भएन ?” प्रश्न नसकिँदै उत्तर फर्काए, “तराईमा पनि गाडी त सडकमा नै कुद्ने हो ।” सबैको हाँसोको फोहरा छुट्दा गाडी अनियन्त्रित होला भन्ने डर लाग्यो । थोरै ग्लानि पनि भयो गलत प्रश्न सोधेछु कि ? तर पनि उनको भनाइबाट आत्मविश्वास बढ्यो, हात्ती हिँडे झैँ गुड्ने यो गेग्य्रान पनि खासमा सडक नै रहेछ ।

भूगोल र मानिसको सपनाबिच के सम्बन्ध छ ? मानिस नहुँदा पनि त पृथ्वी थियो, पृथ्वी नहुँदा मानिस कसरी होला र ? पारिपट्टि चित्रेपाटन पहाडको कायाको बिच बिचमा शरीरमा टाँसिएका मुसा जस्ता मसिना घर । मानिसको सपना कसरी त्यहाँ अडिन्छ होला ? सेन्ट पिटर्सबर्ग, लन्डन, बेइजिङ, लस एन्जलस, मेलबर्न, मोन्ट्रिअललगायतका नगरपालिकामा नजन्मिएर यी मानिस किन आठबिसकोटको भित्तामा जन्मिए ? 

सायद यहीभित्र देखिन्छ मानिसको सपना र भूगोलबिचको सम्बन्ध । कमिला लड्ला जस्तो भिरमा हात्ती जस्तो लम्किरहेको गाडीबाट गरिएको यो अनुभूति के अर्थपूर्ण छ त ? यी सपना अड्याइदिने यी भित्ता र गेग्य्रान सोहोरेर रेखा कोरिएका यी सडकका नगरपालिकाले यथार्थमा मानिसको सपना, समाजवाद, समृद्धि बोकेको छ त ? यहाँको कृषि उत्पादन, पर्यटन र मानिसका सपना बढाउन सके केही हुने थियो ।

भूगोल र मानिसबिचको सम्बन्ध मानिसले गरेको एकतर्फी माया मात्र हो कि ? जाजरकोट भूकम्पले घरहरू क्षतविक्षत पारिदियो । मानिसले भित्तालाई माया गरे झैँ पृथ्वीले मानिसलाई माया गरेको भए भुइँचालोले मानिसको सपना भत्काउने थिएन । मानिसले आफ्नो सपना पूरा गर्न प्रकृतिमाथि गरेको ज्यादतीका कारण नै पृथ्वीसँगको द्वन्द्व चलिरहेको हुनु पर्छ । 

अलि असामान्य आवाजसहित गाडीको एउटा पैयाँले सास छोडिसकेछ । कसो भिरबाट असन्तुलित भई झरेन । सारथिले गाडीको जगेडा पैयाँ लगाए । घाम सिस्ने हिमालको दक्षिणतिरबाट रातो हुँदै हराउँदै थियो । एउटा सुन्दर दृश्य, अलौकिक दर्शन । त्यो रातोपनाले आदि र अन्त्यको सङ्केत ग¥यो । घाम एउटा अलौकिक दर्शन हो, अध्यात्मको अन्तरवस्तु । अस्त अनिवार्य छ, अस्ताउने बेला कमजोर देखिन्छन् यद्यपि भोलि बिहान चम्किलो रूपमा आउने छ भन्ने पनि यसले सङ्केत गरिरहन्छ । उदाउँदा चम्किलो भएको सूर्य अस्ताउँदा रातो बन्छ र भोलि अवश्य उदाउँछ भन्ने दर्शन नै अध्यात्मको अन्तरवस्तु हो । यही नबुझ्दा त मानिस सधैँ लडिरहन्छ, आत्तिइरहन्छ र ताण्डव देखाइरहन्छ ।  कति मजा छ यो यात्रा, गीतकार किरण खरेलले भने झैँ, “तिमी पहाड हेरी रमाऊ, म तिमी हेरी रमाउँछु ।” सारथिले गाडीको अघिल्ला आँखा जलाए । ढुङ्गाको गेग्य्रान देखिन्छ अनि कुइनेटो । कुइनेटोमा निकै दुःख गरेर गाडी घुमाउँछन्, गाडी थोरै पछिल्तिर नघचेटी कुइनेटो काट्दैन । यो पनि अर्को दर्शन नै हो । कुइनेटोमा केही दुःख त हुन्छ, जीवन कहाँ सरल रेखामा गुड्छ र ? सायद हामी पहाडागाउँमा पुगियो ।

“अब कति छ बाटो ?” आवाज बिस्तारै सिस्ने हिमालको कालो चट्टानमा बिलायो । कसैबाट उत्तर आएन । अघि अघि हिँड्ने गाडी पछ्याउँदै भिरको बाटो । साँझ परेपछि कुनै पनि कुराको वास्ता नगरी आँखामा निद्रा आउँदो रहेछ । सबै कुराको निधो समयले गर्छ भनेको यही हो । राजमार्गको रेखाको अनुगमनमा हिँडेको मानिस आफैँ निदाएछ । कृष्णबहादुर ऐरले डोर्‍याए, “अब पारि जानु पर्छ ।” उनको पछि पछि लागियो । स्थानीय नेताको समूह अघि अघि थियो । निद्रामा अलमलिएको मानिस त्यो अँध्यारो रातमा झन् अलमलियो । आज वैशाख कृष्ण अष्टमीको दिन, आकाशबाट आएको प्रकाशको उज्यालोमा झोलुङ्गे पुल तरियो । थोरै उकालो हिँडेपछि एउटा घरमा पुगियो, जहाँ हाम्रा लागि खानाको व्यवस्था थियो । यो आठबिसकोट नगरपालिकाको १ नं. वडा क्षेत्र हो । निकै दुर्गम, बिजुली बत्ती थिएन, सूर्यको शक्तिबाट बलेको निकै मधुरो बत्ती । निकैबेर आकाशतिर हेरेर बसेपछि खाना पाकेको सङ्केत आयो । आकाश आफैँमा अनन्त उज्यालोको स्रोत । जमिनको सिमानामा लडाइँ गर्नेहरू पनि आकाशको अभावमा बाँच्न सक्दैनन् । केटाकेटी बेलामा रातमा धान काट्दा, बिटा लगाउँदा, खेतमा पानी लगाउँदा हामी आकाशका ताराको मद्दत लिन्थ्यौँ । पुस महिनामा शुक्लपक्षको रात बाँझो खेत भिजाउँदा हामी आकाशका तारा गन्ने खेल खेल्थ्यौँ । गन्दागन्दै तारा कता हराउँथ्यो र अलमलिन्थ्यौँ । विष्णुपुराणमा वर्णित ध्रुवताराको कथा बुवाको मुखबाट सुन्दा, ध्रुवप्रति सहानुभूति जागेर आउँथ्यो र रातभर हामी ध्रुवतारा खोज्थ्यौँ । 

धेरै भएछ सहरले र विकासले आकाश हेर्न नदिएको । तीन ताराको अवस्थिति रङ, रूप र आकार उस्तै रहेछ । कति सौम्य छन्, हामी मानिस मात्र अस्थिर छौँ, अधीर छौँ । बिजुलीबत्ती, टुकीबत्ती, मोबाइलमा ब्याट्री अनि हातेटर्चबिनाको दिन, आज अनुपम दिन । कर्णालीको एउटा सुन्दर भूभागको स्पर्श भएको दिन ।विवाहको भतेर जस्तो ठुलो भाँडामा भात पाकेको थियो । काठका मुढा बलिरहेका थिए । म पनि आगोको नजिकै भुइँमा बसेँ । मित्र फत्तेसिंह नेपालले बस्नका लागि मलाई एउटा दाउरा ल्याएर राखिदिए । आल्मुनियमको गह्रौँ थालमा भात, दाल र तरकारी हालिएको थियो । पूरै अर्गानिक खाना । 

सौर्यशक्तिको सञ्चयबाट सुत्ने कोठामा उज्यालो पारिएको रहेछ । आकाशको शक्तिलाई चिन्न नसकेर कैयौँ वर्ष मानिस अलमलिए । भुइँमा गुन्द्रीमाथि ओछ्याइएको राडीमा ढल्कन नपाउँदै बत्ती निभ्यो । स्थानीय सहयात्री घनश्याम शर्माले द्वन्द्वकालको दर्दनाक कहानी सुनाए । बाल्यकालमा सत्तापक्ष र विद्रोहपक्षको चेपुवामा पर्दा कसरी सिङ्गो शरीर धुलो हुँदो रहेछ भन्ने उनको कथामा देखिन्थ्यो । 

बिहानै सुन्दर रोकाजागाउँसँग साक्षात्कार भयो । गौतमहरूको उद्गमस्थल गौतमकोटको फेदी । पर्यटकीय स्वर्गको टुव्रmा । आजको यात्रा फनक्क फर्केर ३ नम्बर वडातिरको हो । जति हिँड्यो उति आइरहने असीम पहाडको भित्तामा खोस्रिएको बाटो । कुनै दिन त यहाँ टनेल सडक बन्ला तर कहिले ?

गेग्य्रान बाटोको कुनाबाट सुन्दर उपत्यका देखियो । त्यो स्यालाखदीगाउँ रहेछ । गाउँ पुग्नै लाग्दा अर्को पैयाँ पनि भुइँमा धसियो । अब उकालो चड्ने उपाय थिएन । गाडीका जगेडा पैयाँ उपयोग भइसकेको थियो । सारथिले भने, “अब दुई दिन हिँडेर मुसीकोट गएर टायर बोकेर ल्याउनुको विकल्प छैन ।” गाडी बनाउने उपाय थिएन । सहयात्री पञ्चमानसँग त्यो सानो बस्तीको अवलोकनमा लागियो ।

एक जना स्थानीयको टोपीमा आँखा अडिए, टोपी भारतको सिमलाका मानिससँग मिल्यो । देवेन्द्र ऐरी रहेछन्, सिमला २० वर्ष बसेका । हिमाचल प्रदेश यात्राका व्रmममा मैले सिम्लामा नाम्लो बोकेका केही नेपालीका कथा लेखेको छु । देवेन्द्रको कथा पनि प¥यो कि ? उनीसाँग गफिने सोच आयो । कर्णालीदेखि सिम्लासम्म सपनाको तन्द्राको एउटा गहिरो कथा आज आउने भयो । एक्कासि गाडी आएर मेरै अघि रोकियो । सारथिले गाडी चढ्ने इसारा गरे । अचम्मित भएँ, गाडी कसरी बन्यो ? ‘जनार्दन शर्मा (प्रभाकर) को गाडीको जगेडा चक्का ।’ मनमनै डर लाग्यो, भोलि उनको टायरको हावा गयो भने ? खासमा सारथिले ‘ट्र्याक टु डिप्लोमेसी’ प्रयोग गरेछन् चालक–चालक सहमति । 

देवेन्द्रको २० बर्से सिमला बसाइको कथा सुन्ने रहर यस पटक अधुरै रह्यो । सुन्दर सिमलाको अनुभूति, त्यहाँ बसेर कोरेका सपना, भत्किएका सपना, आफन्तसँग टाढा हुँदाका आत्मिक घाउ, टाउकोमा बसेको नाम्लोको डामका कथा । गाडी अघि बढिसकेको थियो । पश्चिमी पहाडको छाया हाम्रै गतिमा उकालो लाग्दै थियो ।