विजयकुमार साह
ढल्केबर, वैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट रातिको समयमा अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय धनुषाले तीनवटा ट्याक्टरसहित तीन जनालाई पक्राउ गरेको छ ।
बुधबार राति वन कर्मचारीको गस्ती टोलीले वन क्षेत्रमा अवैध उत्खनन गरिरहेको अवस्थामा ट्याक्टरसहित उत्खननमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले सव डिभिजन वन कार्यालय पुष्पवलपुर र जिल्लाबाट खटिएको संयुक्त गस्ती टोलीले ज १ त ६३७७, ज १ त ४८५६ र मधेश प्रदेश ०२–००१ त–२८७७ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
साथै उहाँले मिथिला नगरपालिका–५, विश्रामपुरका सामैल अछामी, समिर भुजेल र सुन्दरकुमार महरालाई पनि नियन्त्रणमा दिएको बताउनुभयो ।
सिंहले अवैध उत्खनन आरोपमा पक्राउ परेका मानिस तथा प्रयोग भएका सवारीसाधनमाथि आवश्यक थप अनुसन्धान गरी वन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “वन क्षेत्रको संरक्षणका लागि नियमित गस्ती भइरहेको छ । अवैध उत्खनन तथा वन क्षेत्रको दोहन गर्ने कार्यमा संलग्न कसैलाई पनि कानुनी दायराबाट बाहिर जान दिइने छैन ।
पछिल्लो समय धनुषाको विभिन्न सामुदायिक वन क्षेत्रमा रातिको समयमा अवैध ढङ्गले बालुवा, माटो र अन्य सामग्री उत्खनन हुने क्रम बढ्दो रहेको छ । यस्ता क्रियाकलापले वन क्षेत्रको जैविक विविधता र पर्यावरणमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला तथा स्थानीयले रोकथामको माग गर्दै आएका छन् ।