चरीकोट, वैशाख १८ गते । दोलखाको तामाकोसी गाउँपालिकामा निःशुल्क स्त्री रोग तथा महिला प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तामाकोसी गाउँपालिकाको आयोजनामा मङ्गलबार र बुधबार दुई दिने सञ्चाल गरिएको शिविरमा ३४३ जना महिला लाभान्वित भएका छन् ।
शिविरमा गाउँपालिका विभिन्न वडाबाट महिलाहरुको उल्लेख्य सहभागिता रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनुभयो । प्रजनन स्वास्थ्य शिविरसँगै जनरल स्वास्थ्य शिविर पनि सम्पन्न भएको छ । सो शिविरबाट एक सयभन्दा बढिले स्वास्थ्य सेवा पाएको गाउँपालिकाले जनाएको छ । शिविरमा स्त्री रोग परीक्षण तथा उपचार, यौनरोग पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर भीआइए जाँच, महिलाको आङ खस्ने जाँचका साथै औषधी वितरण गरिएको शाखा प्रमुख मिश्रले बताउनुभयो ।
शिविरबाट एकीकृत प्रजनन् स्वस्थ्य शिविरमा यौन तथा प्रजनन स्वास्थ्यमा समस्या भएका महिलाहरुले स्वास्थ्य सेवा लिएको तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले बताउनुभयो ।
शिविरका क्रममा स्त्री रोगसँग सम्बन्धित केही गम्भीर प्रकृतिका बिरामीहरु समेत फेला परेकाले उनीहरुलाई गाउँपालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।
आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट आफ्नो वडाका नागरिक बन्चित नहुन भन्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना सुवेदीले बताउनुभयो । शिविरमा स्वास्थ्य परीक्षण गर्दा विभिन्न रोग देखा परेका बिरामीहरुलाई औषधी समेत वितरण गरिएको उहाँले बताउनुभयो । गाउँमै औषधीसहितको स्वास्थ सेवा पाउँदा स्थानीयहरु खुसी भएका छन् ।
ग्रामीण भेगका अधिकांश महिलाहरुले विभिन्न कारणले रोगहरु लुकाउने र सोही लुकाएका रोगहरु फैलिएर क्यान्सर जस्ता घातक रोगसम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै सञ्चालित शिविरबाट धेरै लाभ लिन सक्ने भएकाले शिविर निकै प्रभावकारी भएको उपाध्यक्ष सुवेदीले बताउनुभयो । स्वास्थ्य उपचारका लागि राजधानी काठमाडौँलगायत जिल्ला बाहिर जानुपर्दा धेरै खर्च लाग्ने भएकाले गाउँमै सेवा पाउदा खुसी लागेको स्थानीयहरुले बताएका छन ।