• १८ वैशाख २०८२, बिहिबार

श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

blog

नेपाली काँग्रेसका सांसद डा. शेखर कोइराला अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख १८ गते । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले श्रमिकहरुकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरु सफल भएको बताउँदै श्रमीकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली काँग्रेस गम्भीर रहेको जिकिर गर्नुभयो ।

सांसद कोइरालाले होटलमा कार्यरत श्रमिकहरुले १० प्रतिशतको कुरा गर्नुभएको उल्लेख गर्नुहुँदै कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै नेपाली काँग्रेसले कानुन बनाउन अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । अहिले दुई ठुला अर्थतन्त्र भएका मुलुकबिच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताउनुभयो । 

सांसद कोइरालाले  श्रमिकहरुले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२३/०६३ को आन्दोलन सफल हुन नसक्ने बताउनुभयो ।