• १८ वैशाख २०८२, बिहिबार

आलिसान प्रशासनिक भवन बन्दै

blog

तस्बिर : शालिग्राम नेपाल भरतपुर महानगरपालिकाको निर्माणाधीन प्रशासनिक भवन ।

शालिग्राम नेपाल 

चितवन, वैशाख १८ गते  । सङ्घीयतापछि ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा चुलिएको छ । नारा अनुसार आफ्नै घरगाउँबाट जनताले सेवा सुविधा पाएका छन् । नागरिकमा सेवा प्रवाह गर्न स्थानीय तहले गच्छे अनुसारका प्रशासनिक भवन बनाएका छन् । भरतपुर महानगरपालिकाले भने सिंहदरबारकै झल्को दिने गरी प्रशासनिक भवन निर्माण गर्न थालेको छ । 

भरतपुर महानगरको निर्माणाधीन भवन सुविधासम्पन्न आलिसान बन्ने भएको हो । २०३५ सालमा निर्माण गरिएको तत्कालीन नगरपालिकाको पुरानो कार्यालयबाट महानगरले सेवा दिँदै आएको छ । हाल सञ्चालनमा रहेको पुरानो भवनको म्याद आगामी २०८५ सालमा सकिँदै छ ।

पुरानो भवन साँघुरो भएपछि विभिन्न पाँच स्थानबाट विभाग सञ्चालन गर्दै आएको छ । कार्यालयपरिसरमा नै सुविधासम्पन्न भवन बनेपछि एकै स्थानबाट सेवा दिन सजिलो हुने महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । 

“केन्द्रीय मन्त्रालयभन्दा आकर्षक भवन बन्दै छ,” उहाँले भन्नुभयो, “महानगरपालिका भएपछि सोही अनुसारको प्रशासनिक भवन आवश्यक पर्छ । छरिएर महाशाखा रहँदा सेवाग्राहीलाई समस्या हुने गरेको थियो । अब भवन सम्पन्न भएपछि एकै स्थानबाट सेवा पाउँदा सबैलाई सजिलो हुने छ ।” भवन नहुँदा अन्यत्र भाडामा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यतामा महानगर रहेको थियो । प्रशासनिक भवन मात्र होइन, महानगरले अन्य भौतिक संरचना निर्माणको कामलाई पनि तीव्रता दिएको छ । वडा कार्यालय, सिटी हल निर्माण, पर्यटकीय क्षेत्रको निर्माण, नारायणी तटबन्धलगायतको निर्माण कार्य भइराखेको प्रमुख दाहालले बताउनुभयो ।  

महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले २०७९ साउन १८ गते सम्झौता भएर निर्माण कार्य भइरहेको भवनको ७८ प्रतिशत प्रगति पुगेको जानकारी दिनुभयो । सम्पन्न गर्नुपर्ने समय आउँदो असोज १८ गते सकिँदै छ । समयभित्रै काम सम्पन्न गर्ने गरी काम अगाडि बढेको उहाँले बताउनुभयो । “२०७९ मा सम्झौता भएलगत्तै निर्वाचन आचारसंहिताका कारण साउनदेखि मङ्सिरसम्म काम रोकियो । त्यसैले तोकिएको समयमा सम्पन्न गर्न कठिन देखिएको छ तर पनि निर्माण कम्पनीले समयमा सम्पन्न गर्ने तयारी गरेको छ,” उहाँले भन्नुभयो ।   

सङ्घ, प्रदेश र महानगरको लागत साझेदारीमा भवन निर्माण भइरहेको छ । ५३ करोड १० लाख रुपियाँमा निर्माण सक्ने गरी २०७९ साउनमा निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभी र महानगरबिच सम्झौता भएको थियो । सम्झौता रकमको ५० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र बाँकी ५० प्रतिशत रकम सङ्घीय सरकार र महानगरले बेहोर्ने महानगरका इन्जिनियर धनश्याम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत छ । 

करिब सात कट्ठामा बनिरहेको प्रशासकीय भवन बेसमेन्टसहित छ तलाको हुने छ । बेसमेन्टमा एक सय वटा चारपाङ्ग्रे साना गाडी र २५० वटा दुईपाङ्ग्रे्रे पार्किङ गर्न सकिने उहाँले बताउनुभयो । 

भवनमा दुई वटा लिफ्ट हुने छन् । भुइँतलामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहने छ भने पहिलो तलामा उपप्रमुखको कार्यकक्ष रहने छ । प्रत्येक तलामा ज्येष्ठ नागरिक विश्राम कक्ष रहने छ । त्यस्तै भवनमा एउटा पुस्तकालय, १५० जना क्षमताको अडिटोरियम हल, चार सय जना क्षमताको सांस्कृतिक प्रदर्शनी हल, प्रत्येक तलामा दुई÷दुई वटा मिटिङ हल रहने छन् । भवनमा विभिन्न शाखा÷महाशाखाका लागि १५८ वटा कार्यकक्ष हुने छन् ।