अनिल पराजुली
हेटौँडा, वैशाख १८ गते । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेश द्रुतमार्ग धमाधम निर्माण भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको चैत मसान्तसम्मको भौतिक प्रगति ३९.३४ प्रतिशत रहेको नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिनुभयो ।
काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको सम्पूर्ण वित्तीय प्रगति भने ४१.०६ प्रतिशत रहेको छ । आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको नेपाली सेनाले जनाएको छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या कायमै छ । द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रव्रिmया सुरु हुन बाँकी रहेको हो । उक्त खण्डमा पर्ने जग्गाको मुआब्जा वितरणका लागि सम्बन्धितसँग समन्वय भइरहेको नेपाली सेनाले सार्वजनिक गरेको प्रगतिमा उल्लेख छ ।
जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानका लागि सम्भावित विकल्पको डिजाइन कार्य अगाडि बढाइएको नेपाली सेनाका सूचना अधिकारी केसीले जानकारी दिनुभयो । २०८१ चैत १९ गते बुङमती इलाकामा पर्ने बोसी खान्की गुठीको १०–०–०–१.०६ रोपनी क्षेत्रफल जग्गा आयोजनाको प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा प्राप्त भएको र हालसम्म स्वीकृत डिपिआरबमोजिम खोकना–बुङमती इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १७८–९–०–१.७५ तथा मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी रहेको छ ।
आयोजना अन्तर्गतका सात वटा सुरुङमार्गको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ । सुरुङमार्गको प्याकेज नं. १ अन्तर्गत महादेवटार सुरुङको जम्मा लम्बाइ तीन हजार ३५५ मिटरमध्ये हालसम्म तीन हजार ३२२ मिटर दायाँ टनेलमध्ये दुई हजार २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ । तीन हजार ३८६ मिटरको बायाँ टनेलको दुई हजार २८६ मिटर अर्थात् ६८ प्रतिशत खन्ने कार्य सम्पन्न
भएको हो ।
त्यस्तै प्याकेज नं. २ अन्तर्गत एक हजार ६९१ मिटर लम्बाइ रहेको धेद्रे सुरुङमार्ग र प्याकेज नं. ३ अन्तर्गत एक हजार ६२३ मिटर लम्बाइ रहेको लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ । नेपाली सेनाका अनुसार एक हजार मिटर लम्बाइ रहेको देवीचौर सुरुङ र ३९० मिटर लम्बाइ रहेको सिसौटार सुरुङको खरिद सम्झौता तथा डिजाइन कार्य सम्पन्न भई पोर्टल निर्माण भइरहेको सेनाले जानकारी दिएको छ ।
दुई हजार २५० मिटर लम्बाइ रहेको चन्द्राम भिर सुरुङको ९१.०३ मिटर निर्माण प्रगति भएको छ । त्यस्तै २०८१ कात्तिक २५ गते नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबमोजिम स्वीकृत भई ५८३ मिटर लम्बाइ रहेको मौरी भिर सुरुङको डिजाइन निर्माण सुरु हुने चरणमा रहेको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।
आयोजना अन्तर्गत रहेका जम्मा ८९ वटा पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता भई निर्माणको चरणमा रहेको छ । निर्माणाधीन अधिकांश पुलको फाउन्डेसनको कार्य सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य भइरहेको छ । जस अन्तर्गत ८१ मिटर उचाइसम्म रहेका विभिन्न प्रकृतिका पुलको निर्माण भइरहेको छ ।
हालसम्म आयोजना अन्तर्गत जम्मा पाँच स्थानका पुलको निर्माण सम्पन्न भइसकेको छ । नेपाली सेनाले चालु आवमा विभिन्न प्रकृतिका पुलसहित थप २० वटा पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिएको छ । त्यस्तै द्रुतमार्गको २४.८ किलोमिटरदेखि ७०.९७७ किलोमिटरसम्म पर्ने जग्गाको अधिग्रहण सम्पन्न भई निर्माण भइरहेको छ ।
काठमाडौँ जिल्लामा रेखाङ्कन परिवर्तन तथा स्लोप स्टेपलाइजेसनका संरचना निर्माणका लागि थप आवश्यक १२८–२–०–२.५५ रोपनी नम्बरी जग्गा तथा विभिन्न जग्गामा निर्मित भौतिक संरचनाको क्षतिपूर्ति, ललितपुर जिल्लामा सुरुङमार्ग निर्माणका लागि थप आवश्यक ५४–११–३–१.८२ रोपनी नम्बरी जग्गा र मकवानपुर जिल्लामा थप आवश्यक २८–१५–३–१.१९ रोपनी नम्बरी जग्गा अधिग्रहणका लागि नेपाल सरकारको स्वीकृति प्राप्त हुने व्रmममा रहेको छ ।
द्रुतमार्ग निर्माणको व्रmममा हालसम्म ४४ हजार ४२० वटा विभिन्न प्रजातिका रुख कटान गरिएको छ । कटान गरिएका रुखको बदलामा हालसम्म सात लाख पाँच हजार ५५२ बिरुवा रोपिएको नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
द्रुतमार्गको २६ किलोमिटरदेखि ३५ किलोमिटरभित्र पर्ने महादेवटार, धेद्रे र लेनडाँडा खण्ड तथा ४९ किलोमिटरदेखि ७० किलोमिटरसम्म पर्ने राजदमार, बागदेव र निजगढ खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार २०८० पुस १२ गते जग्गा अधिग्रहण तथा रुख कटान स्वीकृति प्राप्त भएकोमा बारा तथा निजगढ जिल्लामा कटान भएका रुख सम्बन्धित वन कार्यालयमा हस्तान्तरण भइसकेको छ ।
त्यस्तै द्रुतमार्गको ३५ किलोमिटरदेखि ४९ किलोमिटरसम्म पर्ने रानीसेरा तथा बुदुने खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०८१ वैशाख ७ गतेको वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको छ । त्यसै गरी २०८१ भदौ २० गतेको नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबमोजिम उक्त सडकखण्ड निर्माणको लागि वन ऐन, २०७६ को दफा ४२ को उपदफा (१) बमोजिम मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–१, हेटौँडा उपमहानगपालिका–१८ र बकैया गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको कुल जम्मा ५१.८७१ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो वनमा रहेका विभिन्न प्रजातिका २७ हजार ७४८ वटा रुख कटान गर्ने स्वीकृति दिने निर्णय भएको थियो ।
सोही निर्णय अनुसार हालसम्म १२ हजार ४७० रुख कटान भइसकेको नेपाली सेनाले जनाएको छ । त्यस्तै द्रुतमार्गको ६.५ किलोमिटरदेखि २४ किलोमिटरमा पर्ने मख्खुबेँसी, देवीचौर, सिसौटार, सिस्नेरी र महादेवटार खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिको व्रmममा रहेको नेपाली सेनाले आफ्नो वेबसाइडमार्फत जानकारी दिएको हो ।
हाल द्रुतमार्गको सबबेस निर्माण, बायो इन्जिनियरिङ, रोड निर्माण तथा पर्खाल लगाउने र सेवा दिनका लागि अन्य सहायक रोड निर्माणलगायतका कार्य भइरहेको बताइएको छ । प्रस्थान विन्दु खोकना र अन्तिम विन्दु निजगढ रहेको यस काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । २०७४ मा चार वर्षभित्र काम सक्ने गरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । २०८०÷८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यो पूरा नहुने अवस्थामा पुगेपछि २०८३ सम्मको म्याद थपिएको हो ।
सुरुवातमा एक खर्ब ७५ अर्ब रुपियाँ लगानीमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुगेको छ ।