• १८ वैशाख २०८२, बिहिबार

तरकारीसँगै मकै खेती

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, वैशाख १८ गते । तरकारी खेतीका लागि चर्चित बाँकेको डुडुवा गाउँपालिका–६, हिरमिनियाका किसान मकै खेतीतर्फ पनि आकर्षित भएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारी र मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले तरकारी खेतीसँगै मकै खेती पनि विस्तार गर्दै गएको डुडुवा गाउँपालिकाको कृषि शाखाले जनाएको छ । 

कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले डुडुवा गाउँपालिका–६ मा मात्रै २५० हेक्टरमा मकै खेती गरिएको बताउनुभयो । उहाँले किसानले आलु खनेर बेमौसमी मकै लगाएको जनाउँदै त्यहाँ विभिन्न सिजनमा समेत मकै लगाउने गरेको जानकारी दिनुभयो ।  तरकारी खेती र मकै दुवैबाट राम्रो फाइदा हुन थालेपछि हिरमिनियाका अधिकांश किसान त्यसतर्फ आकर्षित भएको कृषि शाखा प्रमुख शर्माको भनाइ छ । 

डुडुवा गाउँपालिका–६, भँगोटनाका किसान जयपाल मौर्यले उत्पादन र आम्दानी दुवै राम्रो हुन थालेपछि ९० कट्ठा जग्गामा आफूले मकै खेती गरेको जनाउँदै आलु खनेलगत्तै बेमौसमी मकै लगाएको बताउनुभयो । 

किसान मौर्यले मकैमा राम्रो आम्दानी हुने गरेको जनाउँदै एक कट्ठामा चार क्विन्टल मकै उत्पादन हुने गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारीसँगै मकै पकेट क्षेत्र पनि बनाएको बताउनुभयो । 

वडा नम्बर ६ का वडाध्यक्ष मोहनराम मिश्रले बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भए पनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियाली छाएको बताउनुभयो । उहाँले कम जग्गा भएकाले तरकारी खेती गरी आफैँ बजारमा लगेर बेच्ने गरेको जनाउँदै आफूले समेत तरकारी र मकै दुवै खेती गरिरहेको बताउनुभयो । 

वडाध्यक्ष मिश्रका अनुसार हिरमिनियाका किसानले मकै खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । मकैलाई नगदे बालीका रूपमा लिएका हिरमिनियाका किसानले मकै खेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोगसमेत गर्दै आएका छन् । 

हिरमिनियाका अर्का किसान रमेश मौर्यले आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै श्रम र लागतमा समेत कमी आएको बताउनुभयो । उहाँले तरकारी र मकै खेतीले जिल्ला र देशबाहिर मजदुरी गर्न जाने युवालाई स्थानीय स्तरमा रोजगारी दिएर विदेश जानबाट रोक्ने काम गरेको बताउनुभयो । 

सरकारले सिँचाइको व्यवस्था गरिदिए हिरमिनियामा झन् राम्रो तरकारी र अन्य खेती गर्न सकिने अधिकांश किसानको धारणा छ ।