• १८ वैशाख २०८२, बिहिबार

चार सय सतासी उद्योगमा एक खर्ब बयासी अर्ब लगानी प्रस्ताव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १८ गते । स्वदेशी र विदेशी लगानीमा दर्ता भएका ४८७ उद्योगमा एक खर्ब ८२ अर्ब ८७ करोड रुपियाँ लगानी प्रस्ताव आएको छ । 

उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकसम्म स्वदेशी उद्योगमा सो लगानी प्रस्ताव आएको हो । विभागका अनुसार हालसम्म ४५ वटा ठुला उद्योग, २९ वटा मझौला उद्योग र चार सय वटा साना उद्योग दर्ता भएका छन् ।

चालु आवमा ५५ वटा ठुला उद्योग, ५० वटा मझौला र दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेको थियो । तेस्रो त्रैमासिकमै लक्ष्यभन्दा दोब्बर बढीले साना उद्योग दर्ता भएका छन् । 

साना उद्योगमा लगानीकर्ता आकर्षित भएकाले पनि उद्योग दर्ता दोब्बरले बढेको तथ्याङ्कले देखाएको छ । ती उद्योग सञ्चालन भए २६ हजार १३ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । सो अवधिमा २३३ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएको छ । जसमा ५७ अर्ब ९५ करोड लगानी प्रस्ताव गरिएको छ । 

विदेशी लगानीमा परियोजना सञ्चालन भए १२ हजार ४३५ जनाले पाउने प्रस्ताव गरिएको छ । यस्तै तीन हजार ७९ वटा ट्रेडमार्क दर्ता भएका छन् । एउटा प्याटेन्ट दर्ता भएको छ ।

सो अवधिमा ४४ वटा प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरिएको छ । १२० वटा ट्रेडमार्कसम्बन्धी मुद्दा कारबाही भएका र ६३ वटा भारतमा रियायती निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र सिफारिस गरिएको विभागले जनाएको छ ।