• १७ वैशाख २०८२, बुधबार

आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्कन चिकित्सकलाई आग्रह

blog

आन्दोलनरत आवासीय चिकित्सक ।

 काठमाडौँ, वैशाख १७ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्कन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्कन आग्रह हो ।

मन्त्रालयका प्रवक्त एवम् सहसचिव शिवकुमार सापकोटाले आन्दोलनरत निजी कलेजका आवासीय चिकित्सकलाई तत्काल प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्केर बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गर्नुभएको हो । 

वैशाख १६ गते शिक्षा मन्त्री रघुजी पन्तसँग एशोशियसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीको प्रतिनिधि मण्डलबिच छलफल भएको थियो ।

सोही छलफलमा डा. कार्कीले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकबाट निर्देशन भए बमोजिम सम्पूर्ण आवासीय चिकित्सकलाई बैठकबाट पारित भएको निर्वाह भत्ता मासिक ४८ हजार ७३७ रकम प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजको तर्फबाट सम्बन्धित शिक्षण संस्थामा उपस्थित हुनासाथ उपलब्ध गराउने प्रतिबद्धता गरेको उहाँको भनाइ छ । 

आयोगको १६ औँ बैठक गरेको निर्णय कार्यान्ययन गर्न निर्देशन दिएको भएपनि शिक्षा मन्त्रालयमा वैशाख ६ गते निजी सञ्चालकले ४८ हजार ७३७ मात्र उपलब्ध गराउने प्रतिबद्धता गरेकोमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिल बिक्रम कार्कीले आपति जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, “चिकित्सा शिक्षाको स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकलाई सार्वजनिक शिक्षण संस्थामा स्नाकोत्रर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकलाई दिए सरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउन सम्बन्धित विश्वविद्यालय र अन्तर्गतका सम्बन्ध प्राप्त निजी मेडिकल कलेजलाई निर्देशन दिने निर्णय भएकोमा शिक्षा मन्त्रालयमा ४८ हजार ७३७ मात्र उल्लेख भएकोमा गम्भीर आपति छ ।”

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितीको आह्वानमा विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सक आफ्नो हकहितका लागि लामो समयदेखि आन्दोलनरत छन् ।