काठमाडौँ, वैशाख १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाउन आग्रह गर्नु भएको छ ।
मन्त्री पौडेलले भिडियो सन्देश जारी गर्नुहुँदै नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई वैशाख ३१ गते नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको हो ।
हरेक वर्ष वैशाख महिनाको दोस्रो हप्ता (अप्रिल महिनाको अन्तिम हप्तालाई) विश्वभर खोप सप्ताहको रूपमा मनाइन्छ । तर नेपालमा वैशाख महिनालाई नै खोप महिनाको रूपमा मनाउने गरिन्छ । खोप महिनालाई सफल बनाउन तथा आवश्यक सहजीकरण गरिदिनु हुन सबै प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी र अन्य सरोकारवालाहरू मन्त्री पौडेलको अनुरोध छ ।
बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपको पूर्णमात्रा पाएको सुनिश्चत गरी सबै जिल्लालाई पूर्णखोप घोषणा गर्न प्रयासरत रहेको उहाको भनाइ छ । नियमित खोप कार्यक्रममार्फत खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिका छन् कि छैनन् भनेर गाउँ टोलमा गएर सोध खोज गर्ने र छुट भएका बालबालिकालाई खोप लगाउने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
खोप कार्यक्रम सञ्चालन गरी पूर्णखोप सुनिश्चित गर्न यस वर्षको वैशाख महिनामा थप कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
सरकारले बालबालिकाका लागि १३ प्रकारका रोगविरूद्धको खोप, गर्भवती महिलाका लागि दुई वटा रोगविरूद्धको खोप र किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क प्रदान गर्दै आएको छ ।
चिकित्सकका अनुसार खोपले बाल मृत्युदर घटाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाएर गम्भीर रोग लाग्नबाट बचाउनुका साथै स्वास्थ्य र पोषण अवस्थालाई राम्रो बनाउने गर्छ ।