काठमाडौँ, वैशाख १७ गते । विराटनगरमा जारी एमएम कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ ।
बैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको ठुलो अन्तरले हरायो । दुई सय १० रनको विजयी लक्ष्य पछ्याएको कोशीले ३७.२ ओभरमा एक सय १२ रनमा सबै विकेट गुमायो ।
कमजोर ब्याटिङ गरेको कोशीको लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५ रन बनाउनुभयो । चिराग शाहले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।
बलिङमा आसामका तापनकुमार शर्मा र गोकुल शर्माले समान तीन विकेट लिनुभयो । राज विश्वले दुई तथा चिरन्तन खत्तिनियर र अमित सिन्हाले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले ४७.३ ओभरमा सवै विकेटको क्षमिता दुई सय नौ रन बनाएको थियो । आसामका लागि कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रन बनाउनुभयो । अरुण सोनारले ५१, राज विश्वले २४, केभिन संजिवले १५ तथा अमित सिन्हाले १२ रन बनाउनुभयो ।
बलिङमा कोशीका स्पिनर प्रेम कामतले सर्वाधिक चार विकेट लिनुभयो । बिपिनकुमार महतो र भुपाल लुइँटेलले दुई दुई विकेट लिनुभयो । फिर्दोश अन्सारी र प्रकाश कार्कीले एक एक विकेट लिनुभयो । आसामका गोकुल शर्मा प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।
प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा एपिएफ, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले चार लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार पाउने छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विधागत उत्कृष्टलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।