राजु लामिछाने
रुकुमपश्चिम, वैशाख १७ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ६१ वर्षीय कमला बिटालु यसअघि कुकुर्नी कामीको नामबाट चिनिनुहुन्थ्यो । उहाँले २०४४ माघ ८ गते प्राप्त गरेको नागरिकतामा उहाँको नाम कुकुर्नी कामी थियो । त्यसयता उहाँलाई कुकुर्नीकै नामबाट बोलाइयो, चिनाइयो । गाउँमा हुने आमा समूह, वन समूहलगायतका बैठक, तालिम, सरकारी तथा गैरसरकारी निकायले लिने विवरणमा उक्त नाम भन्नुपर्दा उहाँलाई अप्ठ्यारो लाग्थ्यो, हीनताबोध हुन्थ्यो ।
गत आइतबार जिल्ला प्रशासन कार्यालयले उहाँको नागरिकताको नामथर संशोधन गरेर कमला बिटालु कायम गर्यो । नामथर सच्याइएको नागरिकता पाएपछि उहाँले भन्नुभयो, “६१ वर्षको उमेरमा आइपुग्दा पशुको नाम हटाएर मान्छेको नाम पाएँ, असाध्यै खुसी छु ।”
उहाँले सानो छँदा आफूलाई ‘काली’ भनेर बोलाउने गरे पनि नागरिकता बनाउँदा उक्त नाम किन, कसले राखिदियो, त्यो विषयमा जानकारी नभएको बताउनुभयो । एक छोरा र दुई छोरी भएकी उहाँलाई छोराछोरीसँग समेत आफ्नो नाम भन्न असहज हुन्थ्यो । शिक्षण पेसामा रहनुभएका छोरा लीलाधरले आफू १० कक्षामा पढ्ने बेला आमाको नाम थाहा पाएको र त्यो बेला अप्ठ्यारो लागेको सुनाउनुभयो । आमाले सकभर नागरिकता लुकाउने गरेको, कसैले पनि नाम लिएर बोलाउन नपरोस् भन्ने गरेको उहाँले बताउनुभयो । अब भने नामकै कारण उहाँले मनमा पालिरहेको हीनताबोध हटेको छ ।
पहिलो पटक नाम सच्याएर नागरिकता
यता जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले पहिलो पटक नागरिकताको प्रमाणपत्रमा नामथर संशोधन गरेर प्रतिलिपि प्रदान गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले नामका कारण आफूलाई हीनताबोध र अपहेलित भएको भनेर निवेदन दिएपछि ‘कुकुर्नी कामी’ को नामथर संशोधन गरेर कमला बिटालु नामथर कायम गरिएको जानकारी दिनुभयो । उहाँले निवेदन, वडा कार्यालयबाट तोकिएको अनुसूची सिफारिस, पुरानो नागरिकता, स्थलगत प्रहरी सर्जमिन मुचुल्का, व्यक्तिगत स्वघोषणालगायतका प्रक्रिया पुर्याएर नागरिकताको नामथर संशोधन गरिएको बताउनुभयो ।
दलित अधिकारकर्मी गणेश चिन्तनले पुरानो समाजले गरेको सामाजिक र जातीय विभेदको उदाहरणका रूपमा यस घटनालाई लिन सकिने बताउनुभयो । कमलाले नामकै कारण भोगेको हीनताबोध र अपमान असह्य नै रहेको उहाँको भनाइ छ । चिन्तनले दलित, उत्पीडित वर्ग समुदायका व्यक्तिको नाममा मात्र यसरी नागरिकता दिइनु जात व्यवस्थाको उपज भएको जनाउनुभयो । दशकौँपछि पशुको नामबाट आममान्छेको नाममा नागरिकता प्रदान भएको उहाँको भनाइ छ । पुरानो समाजमा यस खालका नाम राखेमा बच्चा मर्दैनन्, लामो आयु हुन्छ भन्ने गलत मान्यताले पनि राख्ने गरेको उहाँले उल्लेख गर्नुभयो । नामथरकै कारण विभेद, अपमान तथा हीनताबोध गरेकाको नामथर रुकुम प्रशासनले कुनै पनि झन्झटबिना संशोधन गरिदिने गरेको चिन्तनको भनाइ छ ।
गृह मन्त्रालयले २०७९ साल साउन २३ गते अपमानजनक शब्द प्रयोग गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने र जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरेर सच्याउने व्यवस्था गरेको थियो । यसअघि जिल्ला प्रशासन कार्यालय दैलेखले पनि अपहेलित शब्द प्रयोग भई जारी भएको नागरिकता प्रमाणपत्र संशोधन गरी नागरिकता प्रदान गरेको थियो ।