• १६ वैशाख २०८२, मङ्गलबार

पुरानो ठेक्का रद्द, नयाँको पर्खाइमा

blog

बागलुङ समाचारदाता

बागलुङ, वैशाख १६ गते । निर्माण कम्पनीको चरम लापर्बाहीका कारण यहाँका दुई पुलको काम अलपत्र परेको छ । 

निर्धारित समयमा काम नहुँदा ठेक्का रद्द भएपछि भुजीखोला र दरमखोलामा पुल निर्माणको काम अलपत्र परेको हो । नयाँ ठेक्का नलाग्दा भुजी र दरमखोला पुलको काम आठ वर्षदेखि अघि बढ्न सकेको छैन । 

तीन करोड ३४ लाख रुपियाँ लागतको भुजीखोला पुलमा दुइ करोड रुपियाँ खर्च भइसकेपछि संरचना अलपत्र परेका छन् । २०७३ असोज ४ गते ठेक्का सम्झौता गरेको वाइपी रफिना संयुक्त निर्माण कम्पनीले काम गरेको भए २०७४ माघ ४ गते सकिनुपर्ने थियो । अन्तिम पटक २०७७ मङ्सिर १४ गते थपिएको म्यादमा पनि प्रगति नभएपछि सडक डिभिजन कार्यालयले तीन वर्षअघि पुलको ठेक्का रद्द गरेको थियो ।

आठ वर्षमा दुई वटा पिल्लर मात्र ठडिएको पुलको काम कहिले सुरु हुन्छ भन्ने एकिन छैन । ढोरपाटन नगरपालिका–५, अधिकारीचौरको भुजीखोला पुलको पिल्लरवरपरको जमिनमा २०७७ सालको बाढीले क्षति पु¥याएको छ । पुल नबन्दा स्थानीयले सास्ती खेप्न बाध्य भएको वडाध्यक्ष दीपेन्द्र पुनमगरले गुनासो गर्नुभयो । मगरले भन्नुभयो, “भुजी माविमा अध्ययन गर्ने बालबालिकालाई पुल नहुँदा सधैँभरि जोखिम बेहोरेर हिड्नुपर्ने अवस्था छ ।” 

सडक डिभिजन कार्यालयले नयाँ ठेक्का, डिजाइन परिवर्तनलगायतका काम सकेर विभाग पठाए पनि अर्थ मन्त्रालयले बजेट सुनिश्चित नगर्दा काम अघि बढ्न नसकेको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले भन्नुभयो, “हाम्रातर्फबाट गर्नुपर्ने सबै काम सकेर मन्त्रालयमा पठाएका छौँ, आर्थिक सङ्कट देखाउँदै अर्थ मन्त्रालयले बजेट सुनिश्चित नगर्दा ठेक्का लगाउन सकिएको छैन ।” 

त्यसै गरी ठेकेदारकै लापर्बाहीले गलकोट नगरपालिका–८, काँडेबास र वडा नं. ९ बाँसखोला जोड्ने दरमखोला पुल पनि आठ वर्षदेखि अलपत्र छ । थपेको म्यादमा पनि काम नगरेपछि सडक डिभिजनले वाइपी कन्स्ट्रक्सन प्रालिसंँगको ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि बाँकी बजेटको सुनिश्चित नभएसम्म नयाँ ठेक्का लगाउन नपाएपछि काम अगाडि बढ्न नसकेको लामिछानेले बताउनुभयो । नयाँ ठेक्काका लागि अर्थ मन्त्रालयको सहमति पाए काम अघि बढ्ने उहाँको भनाइ छ ।